बालुवाटरमा ओली र प्रचण्डबीच ३ घण्टा ‘गोप्य’ भेटवार्ता, के भयो छलफल ?
काठमाडौँ, जेठ ८ । बालुवाटारमा प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच ‘गोप्य’ छलफल भएको छ ।
बुधबार बिहान प्रधानमन्त्रीको सरकारी निवासमा भएको दुई नेताबीचको छलफल करिव ३ घण्टा चलेको बालुवाटार स्रोतले जनाएको छ ।
बिहान ९ बजे बालुवाटार पुगेका प्रचण्ड र ओलीबीचको तीन घण्टा गोप्य छलफलपछि उनीहरुले पार्टीका माहासचिव विष्णु पौडेललाई पनि बालुवाटार डाकेका थिए ।
त्यसपछि ओली प्रचण्ड र महासविव पौडेलबीच त्रिपक्षीय छलफल भएको छ ।
ओली र प्रचण्डबीच भएको उक्त छलफलमा सरकारका काम कारवाहीप्रति बाहिर भएका आलोचना, नेकपाको एकता प्रक्रियामा भएको ढिलाइ, सरकारले ल्याएको विधेयक तथा जेठ १५ मा सार्वजनिक गर्न लागिएको बजेटलगायतका विषयमा कुराकानी भएको बताइएको छ ।
पछिल्लो समय सरकारले संसदमा पेश गरेका मिडिया काउन्सिललगायतका विधेयकमा प्रमुख प्रतिपक्ष दल तथा सञ्चारकर्मीहरुले चर्को विरोध गर्दै आएका छन् ।
प्रमुख प्रतिपक्षले मिडिया काउन्सिल विधेयक संसदबाट कुनै हालतमा पारित गर्न नदिने अडान राख्दै आएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले समेत केही विधेयकमा विवाद बढेपछि कानुनका जानकारहरुसँग छलफल चलाइरहेका बेला सत्तारुढ दलका दुई अध्यक्षबीच गोप्य भेटवार्ता भएको हो ।
नेताहरुबीच छलफलपछि चाँडै नै सचिवालय बैठक बोलाउने विषयमा पनि कुराकानी भएको बताइएको छ ।
यसका साथै सार्वजनिक खरिद ऐन संशोधन गर्न बनेको विधेयकका बारेमा निर्माण व्यवसायीहरुले जनाएको आपत्तिका विषयमा समेत दुई नेताबीच कुराकानी भएको बुझिएको छ ।
यस्तै यता नेकपाको एकता प्रक्रिया अन्र्तगत पोलिटब्यूरो गठन र केन्द्रीय सदस्यहरुको कार्य्विभाजन हुन नसकेकोमा नेता कार्यकर्ताहरुमा असन्तुष्टी पोखिन थालेको छ ।
प्रतिक्रिया दिनुहोस्