कर्णालीमा विप्लव समूहका व्यूरो इन्चार्ज वलीसहित ५ जना पक्राउ
काठमाडौं, जेठ ८ । कर्णालीमा विप्लव समूहका व्यूरो इन्चार्जसहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
कर्णाली प्रदेशमा नेपाल कम्युनिस्ट पार्टी विप्लव समूहका भेरी ब्युरो इन्चार्ज बलबहादुर वलीसहित ५ जना पक्राउ परेका हुन् ।
व्युरो इन्चार्ज वली र भेरी ब्यूरो सदस्य एवं सुर्खेत जिल्ला सेक्रेटरी खडकबहादुर खड्का सुर्खेतको भेरीगंगा नगरपालिका ५ भर्लेनीस्थित दलबहादुर वलीको घरबाट उनीहरुलाई पक्राउ गरिएको हो । साथै उनीहरुसँग विभिन्न दस्तावेजसमेत बरामद गरिएको प्रहरीले जनाएको छ ।
यस्तै प्रहरीले जाजरकोटको कुशे गाउँपालिका २ बाट अन्य तीन जनालाई पनि पक्राउ गरेको छ । जिल्ला जनसरकार प्रमुख हरिचन्द्र जैशी, मुगुको छायानाथ नगरपालिका घर भई कुशे गाउँ कमिटी सदस्य दीपकबहादुर सावत र जाजरकोट जिल्ला कमिटी सदस्य अजपाल बुढा पक्राउ परेका प्रहरीले जानकारी दिएका छन् ।
प्रतिक्रिया दिनुहोस्