राजपाको संयोजक हेरफेर, अध्यक्ष मण्डलको संयोजकमा अनिलकुमार झा

काठमाडौं, ५ जेष्ठ । राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) को अध्यक्ष मण्डलको संयोजकको अनिलकुमार झाले सम्हाल्ने भएका छन् । राजपाको अध्यक्ष मण्डलको बैठकले नेता झालाई संयोजक बनाउने निर्णय गरेको हो ।

अध्यक्षमण्डलका संयोजक शरत्सिंह भण्डारीद्वारा जारी विज्ञप्तिमा पार्टीको अध्यक्ष मण्डलको संयोजक चक्रिय प्रणालीअनुसार परिवर्तन हुने प्रावधानका सम्बन्धमा झाले जिम्मेवारी पाएका उल्लेख छ ।
संयोजक भण्डारी अवधि आजैबाट सकिँदैछ । यसैबीच राजपाले पार्टीको विधान २०७४ को धारा २७ बमोजिम धारा उपधारामा संशोधन गरेको जनाएको छ । विधानमा २ वर्षभित्र महाधिवेशन गर्ने उल्लेख भएकामा त्यस अवधिभित्र महाधिवेशन गर्न नसकेपछि विधान संशोधन गरी ३ वर्षभित्र गर्न सकिने बनाइएको हो ।
पार्टी विधानअनुसार निर्वाचन आयोगले विसं २०७६ वैशाखभित्र महाधिवेशन गर्न म्याद दिएको थियो तर उक्त मितिमा महाधिवेशन गर्न नसकेपछि राजपाले असारसम्मको समय मागेको थियो । असारसम्म पनि महाधिवेशन नहुने भएपछि विधानको ३१ ९१०० मा रहेको २ वर्षभित्र महाधिवेशन गर्नुपर्ने व्यवस्थालाई संशोधन गरेर ३ वर्ष बनाइएको छ ।

राजपाको महाधिवेशनको पछिल्लो मिति कात्तिक २८, २९ र ३० गतेका लागि तोकिएको छ । विधान संशोधन नगर्दा राजपालाई विसं २०७६ असार मसान्तभित्र महाधिवेशन गर्नैपर्ने बाध्यता हुन्छ । जेठ २ देखि ५ गतेसम्म बसेको अध्यक्ष मण्डलको बैठकले विधान संशोधन गरी अध्यक्ष मण्डलको व्यवस्था पनि हटाएको राजपाको विज्ञप्तिमा उल्लेख छ । विधानको दफा ३१ ९१२० मा यसअघि महाधिवेशनपछि पनि अध्यक्ष मण्डलको व्यवस्था राखिएकामा त्यसलाई हटाएर एकल अध्यक्ष रहने व्यवस्था गरिएको छ ।

यस्तै विधानको धारा ३१ ९७० मा रहेको पार्टीको कुनै पनि तह वा स्तरमा समिति बनाउँदा राजपा नेपालमा एकीकृत ६ वटै दलको सम्बन्धित स्तरका कार्य समितिमा आपसी सहमतिका आधारमा मात्रै गठन गर्ने व्यवस्थालाई पनि राजपाले हटाएको छ । यसअघि सङ्क्षिप्त विधानमा निर्वाचित सदस्य, पदाधिकारीका लागि सपथग्रहणको व्यवस्था छुट्न गएकामा अनुसूची ४ मा सपथग्रहणको व्यवस्था गरिएको छ । चक्रिय प्रणालीमा नेतृत्व गर्ने सहमतीलाई कार्यान्वयन गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्