सरकार निरंकुश बन्दै गयो: नेता केसी, मिडियालाई कुण्ठित हुने विधेयक पास हुन दिन्न: नेता शर्मा

काठमाडौं, ४ जेष्ठ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व मन्त्री अर्जुन नरसिंह केसीले सरकार लोकतन्त्रको आवरणमा निरंकुश बन्दै गएको आरोप लगाउनुभएको छ ।

शनिबार राजधानीमा आयोजीत एक कार्यक्रममा बोल्दै नेता केसीले निरंकुश मनोवृत्तिका साथ सरकाले सम्पूर्ण शक्ति र अधिकार आफूमा नीहित गर्नेगरी एकपछि अर्को कानुन बनाउँदै गएको अभिव्यक्ति दिनुभयो ।

राज्यका सम्पूर्ण सम्वैधानिक निकायलाई प्रधानमन्त्री मातहत ल्याउने गरी सरकारले एकपछि अर्को कदम चाल्दै आएको भन्दै उहाँले आपत्ति जनाउनुभयो । उहाँले मानवअधिकार आयोग, राष्ट्रिय सुरक्षा परिषद्, मिडिया काउन्सिल र सूचना प्रविधिसम्बन्धी विधेयकमा गरिएको व्यवस्था लोकतन्त्र र प्रेस स्वतन्त्रताविरोधी भएकाले कांग्रेसले सडकदेखि सदनसम्म विरोध गर्ने बताउनुभयो ।

नेकपाका नेता दिनानाथ शर्माले मिडियासम्बन्धी अधिकारलाई कुण्ठित गर्ने ढंगको विधेयक आए संसदबाट कुनै पनि अवस्थामा पास हुन नदिने प्रतिबद्धता जनाउनुभयो । उहाँले संविधानको मूल मान्यतालाई पालना गराउन प्रतिबद्ध रहेको भन्दै त्यही विषयलाई लिएर सडकमा जान जरुरत नरहेको बताउनुभयो । उहाँले सरकारलाई लोकतन्त्रको मूल्य मान्यताविरुद्ध जान नदिने अठोट व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्