प्रदेश नं.२ को सांसदको सहमति भन्दा बढि बजेटको माग

काठमाडौ, २ जेठ । प्रदेश नं.२ को सांसदले सहमति भन्दा बढि बजेटको माग गरेका छन् । आफु निर्वाचित क्षेत्रमा विकासको लागि सहमतिको बजेटले नपुग्ने भन्दै बजेट थप गर्न माग गरेका छन् । प्रतिनिधिसभाका सांसदहरुले आफ्नो निर्वाचन क्षेत्र लक्षित विकासको निम्ति हरेक सांसदलाई १० करोड रुपैयाँ बजेट दिनुपर्ने माग गरिरहेका बेला प्रदेश २ का सांसदहरुले पनि करोडका योजना माग्दै संसद नै अवरुद्ध गरे ।

बुधबार हरेक सांसदलाई एक करोड दिने सहमति भएपछि प्रदेशसभा बैठक सुरु भयो । तर, प्रदेश २ का सांसदहरु यत्तिमै खुशी छैनन् । सबै सांसदलाई २ करोड बराबरको योजना दिनुपर्ने माग उनीहरुले गरेका छन् । बुधबार प्रदेशसभा बैठकमा नेकपा सांसद सुन्दरबहादुर विश्वकर्माले सांसदलाई २ करोड रुपैयाँ दिनुपर्ने माग गरे । ‘अहिलेसम्म बजेट १० प्रतिशत पनि खर्च हुन हुन सकेको छैन,’ सांसद विश्वकर्माले भने, ‘बजेट खर्च गर्न सबै सांसदलाई २र२ करोडका दरले दिऔं ।’

निर्वाचित सांसदहरुलाई आफ्नो क्षेत्रको विकासका लागि सरकारसँग बजेट माग्ने र संघर्ष गर्ने अधिकार भएको उनले सुनाए ।
तर यता बजेट खर्च गर्ने तरिका तथा त्यसलाई गरिने अनुगमन प्रणाली प्रष्ट नभएको भन्दै सांसदलाई बजेट दिने कार्यको कतिपयले विरोध गर्ने गरेका छन् । विकासको नाममा दिइने त्यस्तो बजेट विकासको काम कम र कार्यकर्तालाई बाँड्ने बढी हुने गरेको भन्दै सांसदको आलोचना हुने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्