प्रदेश नं ३ प्रदेशसभाको अवरोध हट्यो

काठमाडौ, १ जेठ । प्रदेश नं ३ को प्रदेशसभामा राजधानीको विषयले प्रवेश पाएको छ । प्रदेशसभामा राजधानीको विषयले प्रवेश पाएसँगै प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले संसद्को अवरोध हटेको जनाएको छ ।

काङ्ग्रेसले प्रदेशसभाले आफ्नो स्थापनाको डेढ वर्ष पूरा गरिसक्दा पनि स्थायी राजधानी नटुङ्ग्याएको भन्दै प्रदेशसभाको बर्खे अधिवेशनको पहिलो दिन नै संसद् अवरुद्ध गरेको थियो ।

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसबीच राजधानीको विषयलाई चाँडै टुङ्गो लगाउने सम्बन्धमा सहमति भएपछि संसदमा रहेको अवरोध हटाउँदै प्रदेश ३ को स्थायी राजधानीको प्रक्रिया शुरु गरिएको हो ।

सहमतिपछि मंगलबारदेखि नै स्थायी राजधानीका लागि प्रक्रियासमेत शुरु गरिएको छ । प्रदेशको राजधानीको विषय मंगलबार प्रदेशसभामा पेश भएको छ । प्रदेशसभा बैठकमा यससम्बन्धी प्रस्ताव पेश भएको प्रदेशसभाले जनाएको छ ।

नेकपाका मुख्य सचेतक रामेश्वर फुयाँलले राजधानीसम्बन्धी प्रस्ताव पेश गरेका हुन् । प्रस्तावलाई नेपाली काङ्ग्रेसकी प्रमुख सचेतक राधा घलेले समर्थन गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्