डा. भट्टराईले गरे युवराज खतिवडाको आलोचना, भने – बजेटको सिद्धान्त र कार्यक्रममा अल्छीपन देखियो’
काठमाडौं, बैशाख २९ । संवैधानिक व्यवस्थाअनुसार जेठ १५ गते सार्वजनिक हुने आगामी आर्थिक वर्ष २०७६र०७७ को बजेट निर्माणको काम धमाधम भइरहेको छ।
नीति तथा कार्यक्रम सार्वजनिक भइसकेको छ भने पूर्व बजेट छलफल चलिरहेको छ। अर्थमन्त्री डा युवराज खतिवडाले ’बजेट विनियोजन विधयेक, २०७६’ संसदमा शुक्रबार प्रस्तुत गरिसकेका छन्।
संसदमा प्रस्तुत भएको विनियोजन विधेयकमाथिको छलपलमा पूर्व प्रधानमन्त्री तथा समाजवादी पार्टी नेपालका संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईले अर्थमन्त्री डा. युवराज खतिवडाको आलोचना गरेका छन्।
आगामी आर्थिक वर्षको बजेटको सिद्धान्त तथा प्राथमिकतामाथिको छलफलमा भाग लिँदै भट्टराईले अर्थमन्त्री खतिवडाले आफैँलाई न्याय गर्न नसकेको बताएका हुन्।
खतिवडाबाट धेरै अपेक्षा गरिएपनि बजेटको सिद्धान्त तथा प्राथमिकतासम्म आइपुग्दा त्यो नदेखिएको बताए। ’उहाँ विषय विज्ञ हुनुहुन्छ, तर अहिले जस्तो काम भएको छ त्यो हेर्दा उहाँले आफैँमाथि न्याय गर्नु भएन कि जस्तो लाग्यो,’ उनले भने, ’बजेटको सिद्धान्त तथा प्राथमिकता तयार गर्दा अल्छी गर्दै लेखेजस्तो देखियो।’
अर्थतन्त्रको समस्या पहिचान भएपनि उपयुक्त हिसाबमा त्यसको निदान नभएको भट्टराईले टिप्पणी गरे।
अर्थमन्त्री खतिवडाले संघीयता सही ढंगबाट कार्यान्वयन भएको बताए पनि त्यो ठीक नभएको भट्टराईको टिप्पणी छ। उनले अपेक्षाअनुसार बजेट खर्च नभएको भन्दै त्यसमाथि पनि असन्तुष्टी जनाए।
प्रतिक्रिया दिनुहोस्