सभामुख महराप्रति देउवाको आक्रोश : इतिहासकै कमजोर र डरपोक ! दिए सडकबाटै सरकार ढाल्ने चेतावनी

काठमाण्डा, बैशाख २५ । प्रमुख प्रतिपक्ष दल नेपाली का‌ंग्रेसका सभापति शेरबहादुर देउवाले सभामुख कृष्णबहादुर महरालाई इतिहासकै सबैभन्दा कमजोर सभामुखको संज्ञा दिएका छन्।

कांग्रेस सभापति देउवाले मंगलबार प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री ओलीले बोलेको गैर संसदीय भाषालाई हटाउन गर्न आफ्नो पार्टीले पटक पटक आग्रह गर्दा पनि सभामुख महराले डराएर हटाउन गर्न नसकेको दाबी पनि गरे ।

‘नेपालको संसदीय इतिहासमा यति कमजोर, यति डरपोक र काँतर सभामुख आफूले कहिल्यै नदेखेको’ सभापति देउवाको दावी छ । मंगलबार सरकारको नीति तथा कार्यक्रममाथि सांसदहरुले गरेको पुरक प्रश्नलाई प्रधानमन्त्री ओलीले ‘निम्छरो’ भनेपछि का‌ंग्रेसले आपत्ति जनाउँदै सभामुख महरालाई त्यो शब्द संसदको रेकर्डबाट हटाउन माग गरेको थियो ।

सभापति देउवाले आफ्नो पार्टीको मागअनुसार गैरसंसदीय शब्द संसदको रेकर्डबाट नहटाएको भन्दै सभामुख महराप्रति आक्रोश पनि व्यक्त गरे ।

‘धेरै सभामुख भए,’ बुधबार काठमाण्डौमा आयोजित पार्टीको राष्ट्रिय जागरण अभियानको शुभारम्भ कार्यक्रममा बोल्दै सभापति देउवाले भने, ‘तर सभामुख महराले प्रधानमन्त्रीले बोलेको त्यो गैरसंसदीय भाषा हटाउन नसकेर निरिहता प्रकट गरे ।’

सभापति देउवाले प्रधानमन्त्री ओलीलाई जथाभावी नबोल्न पनि सचेत गराए । कम्युनिष्ट शासन आएकाले राष्ट्रपति बेलायती महारानीको शैलीमा प्रस्तुत भएको सभापति देउवाको आरोप छ । सभापति देउवाले सरकारले सबै क्षेत्रमा हस्तक्षेप गरिरहेको दाबी पनि गरे ।

साथै उनले सडकमा रेलिङ भाँच्ने र संसदमा कुर्सी फोड्ने प्रतिपक्षी नभएपनि यस्तै रवैया रहिरहे सडकबाटै ओली सरकारलाई ढाल्ने चेतावनी पनि दिए ।

प्रतिक्रिया दिनुहोस्