एकता घोषणा गरेको २ दिन नबित्दै समाजवादी पार्टीमा भाँडभैलो सुरु, झण्डै एक दर्जन नेताहरु बाहिरिने तयारीमा

काठमाडौं, बैशाख २५ । एकता घोषणा गरेको २ दिन नबित्दै नयाँ शक्ति पार्टी नेपाल र संघीय समाजवादी फोरम नेपालबीच एकता गरेर बनेको समाजवादी पार्टीमा भाँडभैलो सुरु हुन थालेको छ ।

सो पार्टीका झण्डै एक दर्जन नेताहरु बाहिरिने तयारीमा जुटेका छन् । त्यसका लागि उनीहरुले आन्तरिक छलफललाई तीव्र बनाएका छन् ।

उक्त एकताप्रति प्रश्न उठाउदै नेताहरुले विद्रोह गर्ने तयारी गरेका हुन् । यसको नेतृत्व पूर्व नयाँ शक्ति पार्टीका नेताहरुले गरेका छन् ।

पूर्व नयाँ शक्ति पार्टीका सचिवालय सदस्यहरु मदन राई, कल्पना धमला, भक्तबहादुर शाह, रामबहादुर बोहोरा, सोनामसिंह स्याङतान, ज्ञानेन्द्र कुमाल, देवेन्द्र पराजुलीलगायतले फोरमसँगको पार्टी एकता प्रकृया नै गलत भएको निष्कर्ष निकाल्दै विकल्पको खोजीमा लागेका हुन् ।

‘एकता प्रकृया नै गलत ढंगले गरिएको भन्ने हाम्रो बुझाई छ । पहिला पार्टीमा आन्तरिक लोकतन्त्रको अभ्यास हुन सकेन भनेर बृहत लोकतन्त्रको कुरा गरेका हामी एकता घोषणाकै क्रममा पनि लोकतान्त्रिक अभ्यास हुन नसकेपछि हामी सोच्न बाध्य भएका हौं’ नेता देवेन्द्र पराजुलीले रातोपाटीसँग भने, ‘एकता औपचारिक मात्रै भयो भन्ने हाम्रो निष्कर्ष छ ।’

स्रोतका अनुसार उनीहरुको नयाँ सांगठानिक संरचनाप्रति असन्तुष्टि छ ।

पराजुलीले आफ्ना मागबारे समाजवादी पार्टीका नेताहरुसँग तत्काल कुरा गर्ने पनि बताए । ‘हामी हाम्रा कुरा नेतृत्वसँग राख्छौ । प्रतिकृया कस्तो आउँछ । त्यसपछि बाटो तय गर्छौ’ पराजुलीले भने ।

यसैबीच असन्तुष्ट मध्येका केही नेता बुधबार नै नेकपामा प्रवेश गर्ने तयारीमा रहेको बुझिएको छ । त्यसका लागि नेकपा पार्टी कार्यालयमा पार्टी अध्यक्ष प्रचण्ड र महासचिव विष्णु पौडेलले ‘विशेष’ कार्यक्रमको आयोजना गरेका छन् ।

नयाँ शक्ति र फोरमबीच वैशाख २३ गतेमात्रै एकता गरेर समाजवादी पार्टीको घोषणा गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्