नीति तथा कार्यक्रमको मेरो सरकार शब्दावलीमा सत्तारुढ दलको बैठकमा लफडा, पछि घुसाईयो: अध्यक्ष प्रचण्ड

काठमाडौं, २२ बैशाख । नीति तथा कार्यक्रममा ‘मेरो सरकार’ शब्दावलीको प्रयोगलाई लिएर शनिबार सत्तारुढ पार्टीको संसदीय दलको बैठकमा केहीबेर लफडा भयो । सांसदहरुले केपी ओलीलगायतको नेतृत्व मण्डलीले हुकुमी शैली अपनाएको भन्दै बैठकमा गुनासो व्यक्त गरे । दलको बैठकमा उपनेता सुवास नेम्वाङले निकै लामो मन्तव्यसहित सरकारको नीति तथा कार्यक्रमको व्याख्या गरेका थिए । तर, सांसदहरुले आफूहरुलाई राजाले पटांगिनीमा राखेर निर्देशन दिएको जस्तो गरियो भन्दै नीति तथा कार्यक्रममाथि छलफल गर्न पाउनुपर्ने माग गरे ।

संसदीय दलका उपनेता सुवास नेम्वाङले बैठकमा प्रस्ताव राखे– बैशाख २४ गते संसदबाट नीति तथा कार्यक्रम पास गरौं, त्यसपछि २५ र २६ गते दिनभरि दलको बैठकमा सांसदज्यूहरुले बोल्नुहोला ।

सुवास नेम्वाङको कुरामा सांसद रामकुमारी झाँक्रीले आपत्ति जनाइन् र बैठकमा भनिन्– ‘उपनेताको कुरा सुन्दाखेरि नीति कार्यक्रम पास गरिसकेर प्रधानमन्त्री कम्बोडियामा भएका बेलामा दलको बैठक बस्ने भन्ने सुनियो, यस्तो छलफल त अन्त पनि गर्न सकिन्छ । नीति कार्यक्रमकै विषयमा हाम्रा कतिपय असहमतिहरु छन् । हाउसमा आफ्नो कुरा त गर्छौं नै, संसदीय दलमा छलफल गर्ने वातावरण नबनाउने यो कुन तरिका हो ? राष्ट्रपतिलाई ड्राफ्ट गरेर बुझाएको नीति तथा कार्यक्रमको शब्दावलीप्रति हाम्रो आपत्ति छ ।’

रामकुमारीले जस्तै अर्का सांसद जनार्दन शर्माले पनि राष्ट्रपतिबाट मेरो सरकार भनिएकोमा आपत्ति जनाए ।

अर्का सांसद सुुरेन्द्र पाण्डेले आक्रोशित हुँदै भने– ‘२४ गते नीति कार्यक्रम पास गर्ने ह्वीप छ भनेर म्यासेज पठाएको भए हुन्थ्यो, किन यो बैठक राखेको ? यो पार्लियामेन्ट्री कमिटी हो, तपाईहरुले सुनाउने, हामीले सुन्ने ? तपाईहरुका मात्रै कुरा सुन्न हामीलाई बोलाएको हो ? पारितै गर्दिनुपर्ने हो भने पार्टीको सरकार छ, पास गरिदिउँला । तर, छलफल गर्न त दिनु परो नि ।’

अर्का नेता खगराज अधिकारीले पनि नीति कार्यक्रममाथि सांसदहरुले छलफल गर्न पाउनुपर्ने माग राखे ।

दलको बैठकमा सुवास नेम्वाङले ‘पारित गरौं’ भन्दा धेरै सांसदहरुले हात उठाएर हुँदैन । भन्ने आवाज निकालेका थिए । तर, सांसदहरुले हुँदैन र छलफल गरिनुपर्छ भन्दाभन्दै नेकपा संसदीय दलको शनिकारको बैठक नेताहरुको भाषणबाजीपछि विना निश्कर्ष सकिएको थियो ।

सरकारले पेश गरेको नीति तथा कार्यक्रममा संसदमा आइतबारदेखि छलफल हुँदैछ । मंगलबार यो प्रस्ताव संसदमा निर्णयार्थ प्रस्तुत हुनेछ । यसमा कांग्रेसले संशोधन प्रस्ताव हालेको छ भने नेकपाभित्र पनि असन्तुष्टि छ । तथापि नेकपाका सांसउदहरु मन नलागी नलागी यसलाई पारित गर्नुपर्ने बाध्यतामा छन् ।

पछि घुसाईयो : अध्यक्ष प्रचण्ड

राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार संसदमा प्रस्तुत गरेको आगामि वर्षकोे सरकारको नीति तथा कार्यक्रममा मेरो सरकार शब्दले विवाद आएपश्चात नेकपाका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले आफले पढ्दा नभएको र पछि त्यसमा ‘मेरो सरकार’ घुसाउने भएको बताउँदै यो काममा प्रधानमन्त्री वा राष्ट्रपतिबाहेक पार्टीका अन्य नेताहरुको संलग्नता रहने कुरै नभएको बताएका छन् ।

शनिबार दिउँसो आयोजित नेकपा संसदीय दलको बैठकको प्रारम्भमा प्रधानमन्त्री ओली उपस्थित थिएनन् । त्यहाँ नेकपा सांसदहरुले नीति तथा कार्यक्रममा ‘मेरो सरकार’ भनिएकोबारे प्रश्न उठाए । सांसदहरुको प्रश्नको जवाफ दिँदै नेकपाका अध्यक्ष प्रचण्डले ‘मेरो सरकार’ पछि घुसाइएको बैठकमा सुनाइएका हो ।

दलको बैठकमा प्रचण्डको भनाइलाई उधृत गर्दै एक सांसदल भने, ‘संसदमा राष्ट्रपतिले वाचन गर्नुअघि प्रचण्डजीले नीति तथा कार्यक्रम पढेको तर, आफूले पढ्दा त्यहाँ मेरो सरकार नलेखिएको बताउनु भयो ।’

‘मैले पढ्दाखेरि त्यहाँ कतै पनि मेरो सरकार लेखिएको थिएन, पछि घुसेछ,’ प्रचण्डले बैठकमा यसो भन्दै गर्दा अर्का अध्यक्ष तथा प्रधानमन्त्री ओली फुत्त बैठक कक्षमा प्रवेश गरे । ओली आउनासाथ प्रचण्डले भने, ‘बाँकी के कसो भएको हो, प्रधानमन्त्रीजी पनि आउनुभयो, थप कुरा उहाँले नै बताउनुहुनेछ ।

ओली आउनुपूर्व दलको बैठकमा प्रचण्डले भनेका थिए, ‘मेरो पालामा नीति तथा कार्यक्रम कस्तो भयो थाहा भएन, यसपालि चाहिँ हामीले सांगोपाङ्गो हेरेका छौं, नीति कार्यक्रम प्रधानमन्त्रीजी र म नै बसेर हेरेको हो । हामीले हेर्दासम्म यो मेरो सरकार भन्ने थिएन, यो कहाँबाट थपियो, प्रधानमन्त्रीजीलाई थाहा होला ।’

तर, प्रधानमन्त्री ओलीले ‘मेरो सरकार’ भन्ने प्रचलन अन्तरराष्ट्रिय रुपमै रहेको बताइसकेपछि अब यसलाई सामान्य रुपमा लिन प्रचण्डले नेकपा सांसदहरुलाई आग्रह गरे । ‘प्रधानमन्त्रीको कुरा सुन्दा यो अन्तरराष्ट्रिय प्रचलन पनि रहेछ । ठीकै छ, अब यसमा नलागौं, यसको कन्टेनमा छलफल गरौं’ बैठकमा प्रचण्डले सांसदहरुलाई भने, अब यसलाई पारित गरेर बजेटको तयारीमा लागौं ।’

प्रतिक्रिया दिनुहोस्