सरकारले राष्ट्रपतिलाई राजा महाराजाको हैसियत दियोः नेपाली कांग्रेस
काठमाडौं, बैशाख २१ । सरकारले राष्ट्रपतिलाई कार्यकारी राष्ट्रप्रमुखको हैसियत दिन खोजेको भन्दै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले गम्भीर आपत्ति जनाएको छ ।
सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दा राष्ट्रपतिले मेरो सरकार भन्ने शब्दावली प्रयोग गर्नु सैद्धान्तिक रुपमा गल्ती भएको कांग्रेसको ठहर छ ।
शनिबार सिंहदरबारमा बसेको कांग्रेस संसदीय दलको बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपतिलाई राजा महाराजाको जस्तो गरी कार्यकारी राष्ट्र प्रमुखको हैसियत दिएको आरोप लगाएको छ ।
कांग्रेस प्रमुख सचेतक बालकृष्ण खाँडले सरकारको नीति तथा कार्यक्रममा प्रयोग भएको भाषा संशोधन गरिनुपर्ने बताए ।
कांग्रेसले नीति तथा कार्यक्रमलाई साधन स्रोत बिनाको पुलिन्दा को संज्ञा दिएको छ । स्थानीय सरकारलाई क्रियाशिल गराउने भन्दा राजकीय शक्तिलाई केन्द्रीकृत गर्ने ढंगको नीति तथा कार्यक्रम आएको उसको दाबी छ ।
सरकारको नीति तथा कार्यक्रमले नेपाली नागरिकको जीवनलाई परिर्वतन गर्न नसक्ने निष्कर्ष कांग्रेसले निकालेको छ ।
प्रतिक्रिया दिनुहोस्