कांग्रेसले भन्यो- सरकारको नीति तथा कार्यक्रममा आश्वासनबाहेक केही पनि छैन

काठमाण्डौ , बैशाख २१ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सरकारको नीति तथा कार्यक्रममा आश्वासनबाहेक केही पनि नभएको टिप्पणी गरेको छ ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारको नीति तथा कार्यक्रममा आश्वासन बाहेक अरु केही पनि नभएको प्रारम्भिक प्रतिक्रिया दिनुभएको हो ।

राष्ट्रपति विद्या भण्डारीले शुक्रबार संघीय संसदको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेपछि संचारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै उहाँले अघिल्लो वर्षकै निरन्तरता बाहेक सरकारले आफ्नो नीति तथा कार्यक्रम केही थप उल्लेख गर्न नसकेको बताउनु भयो ।

सभापति देउवाले राष्ट्रपति भण्डारीले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दा ‘मेरो सरकार’ भन्नुको साटो ‘नेपाल सरकार’ भनेको भए उपयुक्त हुने धारणा पनि राख्नु भयो । राष्ट्रपतिलाई ‘मेरो सरकार’ भन्ने रहर रहेको आफूलाई अनुभूति भएको सभापति देउवाको भनाइ छ ।

त्यसैगरी कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँडले राष्ट्रपति भण्डारीले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दा ‘मेरो सरकार’ भनेकोमा आपत्ति जनाउनु भयो । उहाँले सरकारको नीति तथा कार्यक्रमले जनतालाई राहत नदिने दावी पनि गर्नु भयो ।

प्रमुख सचेतक खाँडले सरकारको नीति तथा कार्यक्रममा घोषित कार्यक्रमलाई कार्यान्वयनमा लैजाने योजना नभएको दावी समेत गर्नु भयो ।

यसैक्रममा राजपाका नेता महन्थ ठाकुरले सरकारको नीति तथा कार्यक्रम सामान्य र नयाँ केही नभएको प्रतिक्रिया दिनुभएको छ । सरकारको नीति तथा कार्यक्रम सार्वजनिक भएपछि संघीय संसद भवनमा सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै उहाँले नयाँ लाग्ने कार्यक्रम केही नभएको प्रतिक्रिया दिनुभएको हो । उहाँले संघीयता कार्यान्वयनका सम्बन्धमा ठोस योजना नआएको गुनासो गर्नुभयो ।

त्यसैगरी पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले सरकारको नीति तथा कार्यक्रमलाई सपनाको पुलिन्दा रहेको प्रतिक्रिया दिनुभएको छ ।

सरकारको नीति तथा कार्यक्रम सार्वजनिक भएपछि संघीय संसदभवनमा संचारकर्मीसंग संक्षिप्त प्रतिक्रिया दिदै उहाँले आधार र योजना विनाका कार्यक्रम सपना मात्रै भएको धारणा राख्नुभएको हो । उहाँले भ्रष्टाचार नियन्त्रण, राजश्व अभिवृद्धि, महिला हिंसा अन्त्य लगायतका कुरा गरिए पनि त्यसका लाई गरिनुपर्ने संरचनात्मक परिर्वतनका कुरा आउन नसकेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘यो एउटा कोरा कल्पना , नारा, सपनाको एउटा पुलिन्दा हो यसले व्यवहारमा खास असर गर्छ जस्तो मलाई लाग्दैन ।’

उहाँले प्रशासनिक सुधारको खाका आउनुपर्ने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्