मन्त्री पण्डित भन्छन् – समायोजनमा कर्मचारीको गुनासो वैशाखभित्रै सम्बोधन गर्छु

काठमाडौं, बैशाख २० । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले वैशाख महिनाभित्र समायोजनसम्बन्धी कर्मचारीको सबै गुनासो समाधान गर्ने बताएका छन् ।

कर्मचारी समायोजनका क्रममा समस्यामा परेका कर्मचारीको गुनासो सरकारले यही महिनाभित्र संबोधन गर्ने तयारी गरेको उनले बताए ।

मन्त्री पण्डितले समायोजनका क्रममा महिला र कडा रोग लागेकाहरुको गुनासोलाई पहिलो प्राथमिकता दिने पनि बताए ।

‘महिलाहरुलाई उहाँहरुको पहिलो इच्छालाई प्राथमिकता दिइएको छ, कडा रोग लागेकालाई उपचारको नजिक र परिवारको नजिक बनाउने काम व्यवस्थापन भइरहेको छ’ उनले भने ।

शुक्रबार रिपोर्टस क्लबले गरेको साक्षात्कारमा उनले भने ‘ प्रशासनको धेरैजसो टुंगिसकेको छ । स्वास्थ्यको धमाधम काम भइरहेको छ, मैले एक हप्ताभित्र यो टुंग्याउने प्रयास गरिरहेको छु, बढीमा यो महिनाभित्र सम्पूर्ण काम टुंग्याउनेछु ।’

समायोजनमा असन्तुष्टि जनाई आएका हरेक निवेदनको पूरा अध्ययन गरी साँच्चै जायज समस्या पाइएमा सम्बोधन गर्ने मन्त्री पण्डितले बताए ।

काम गरिरहेको ठाउँ भन्दा धेरै पर समायोजनमा परेको, प्रदेश र तह नै फरक परेको, कडा रोग लागेको र श्रीमान श्रीमतीको फरक फरक ठाउँमा परेका छन् भने उनीहरुको गुनासो सम्बोधन हुने मन्त्री पण्डितको भनाइ रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्