फोरम नेपाल र नयाँ शक्तिबीच एकता घोषणाको तयारी, के होला त ?
काठमाडा, बैशाख १८ । संघीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति नेपालबीच एकीकरणको घोषणा गर्ने तयारी भइरहेको छ । दुई पार्टीबीच लामो समयदेखि एकीकरणका लागि पहल भइरहेपनि बल्ल अहिले आएर टुङ्गोमा पुगेको छ ।
नयाँ शक्तिसँग एकीकरण गर्ने भएपछि फोरम नेपालले आफ्नो केन्द्रीय महाधिवेशन सार्ने तयारी पनि गरिरहेको फोरम नेपाल पार्टी कार्यालय स्रोतले जनाएको छ ।
वैशाख २८, २९ र ३० गते जनकपुरमा महाधिवेशन गर्ने मिति तय गरेको थियो । तर नयाँ शक्तिसँग एकीकरण गरेपछि अर्को एकता महाधिवेशनको मिति तोक्ने तयारी भइरहेको बताइएको छ ।
एकीकरणको विषयमा दुई दलको वार्ता समितिको बीचमा सहमति भइसकेको छ, त्यसलाई पार्टीको आधिकारिता दिनका लागि नयाँ शक्ति नेपालले वैशाख २० गते सचिवालयको बैठक बोलाएको छ ।
बैठकमा फोरम नेपालसँग एकीकरण हुने विषयमा छलफल हुने र त्यसलाई पारित गर्ने नयाँ शक्ति पार्टीका एक नेताले बताए । त्यस्तै त्यही विषयमा छलफल गर्नका लागि फोरम नेपालले वैशाख २१ गतेका लागि केन्द्रीय समितिको बैठक बोलाएको छ ।
बैठकमा नयाँ शक्तिसँगको एकीकरण र महाधिवेशनको बारेमा छलफल हुने बताइएको छ । अहिलेसम्म एकीकृत पार्टीमा दुवै दलका अध्यक्ष रहने गरि अध्यक्षमण्डल रहनेछ । अर्थात नेकपाको मोडेलमा फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव र नयाँ शक्ति नेपालका संयोजक डा.बाबुराम भट्टराई दुईजना नै अध्यक्ष रहने बताइएको छ ।
निर्णय गर्ने अधिकार दुवैजनाको समान रहने भएपनि वरिष्ठताक्रममा भट्टराई पहिलो नम्बरमा रहने बताइएको छ ।
राजपा नेपाल र फोरम नेपालबीच पत्रको आदान प्रदान मात्र भएको छ । एकीकरणका लागि औपचारिक वार्ता भएको छैन ।
प्रतिक्रिया दिनुहोस्