कामचलाउ सरकारले अहिले गरेका निर्णय मान्य हुँदैनन् : सचिव ज्ञवाली

काठमाडौं । एमालेका केन्द्रीय सचिव प्रदीप ज्ञवालीले आगामी माघ पहिलो साताभित्रै वाम गठबन्धनको सरकार बन्ने बताए ।

रफत सञ्चार क्लबमा आयोजित साक्षात्कार कार्यक्रममा उनले सो अबधिमा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा नयाँ सरकार बन्ने समेत दाबी गरे ।

एमाले र माओवादीबीच बृहत् छलफल र बहस भइरहेका कारण सरकार गठनलगत्तै पार्टी एकीकरण हुने चर्चा गर्दै सचिव ज्ञवालीले पार्टी एकीकरणमा कुनै शंका नभएको र अब बन्ने सरकार पनि स्थायी सरकारका रुपमा रहने बताए ।

अहिलेको काम चलाउ सरकारले गरेका सबैखाले निर्णय र नियुक्तिहरु गैरकानूनी र नैतिकता विपरीत रहेको उल्लेख गर्दै भने, “नयाँ सरकारलाई कामचलाउ सरकारले अहिले गरेका निर्णय मान्य हुँदैनन् ।”

सचिव ज्ञवालीले अहिले सरकारमा जाने टोलीमा क्षमता र योग्यताका आधारमा राम्रा व्यक्ति जाँदैछन् तर तिनले जनचाहनाअनुसार काम गर्न नसके हेरफेर गर्न सकिने बताए ।
राष्ट्रियसभाको अध्यादेश राष्ट्रपतिले अहिले नै प्रमाणीकरण गर्नुपर्ने बाध्यता नरहेको र सरकार गठन तथा अध्यादेश फरक पाटो भएकाले अध्यादेश प्रमाणीकरणमा राष्ट्रपतिलाई दबाब दिन नहुने पनि बताए ।

प्रतिक्रिया दिनुहोस्