प्रधानमन्त्री ओलीको दावी – अब नेपाली विदेशमा काम गर्न होइन विज्ञका रुपमा सिकाउन जानेछन्

काठमाडौं, बैशाख ११ । प्रधानमन्त्री केपी शर्मा ओलीले अबका दिनमा नेपालीको परिचय बदलिने दावी गरेका छन् । बैदेशिक रोजगारीमा दैनिक १५ को हाराहारीमा युवाहरु विदेश गइरहेका बेला प्रधानमन्त्रीले यस्तो बताएका हुन् ।


प्रधानमन्त्री ओलीले अब नेपालीले विदेशमा काम गर्न होइन, विज्ञको रुपमा पढाउन सिकाउन जाने दावी गरे । नेपालीको परिचय बदल्ने समय आएकाले सरकार नेपालीको परिचय बदल्न लागिपरेको उनले दावी गरे ।


मंगलबार काभ्रेको धुलिखेलमा सञ्जीवनी नमुना विद्यालयको भवन उद्घाटन तथा हस्तान्तरण कार्यक्रममा ओलीले भने, ‘निरक्षर गरिबी र विदेशमा तल्लो स्तरका काम गर्ने परिचय फेरिनेछ, सरकारले केही वर्षमै गरिबी अशिक्षा बेरोजगारी समस्याको समधान गर्नेछ ।’

प्रधानमन्त्री ओलीले भने,सरकार नेपालीको परिचय बदल्ने गरी काम गरिरहेको छ’, उनले थपे ‘गुणस्तरीय, नैतिक र रोजगारी मुलक शिक्षाको माध्यमबाट नेपालीको क्षमता विकास र परिवर्तन गर्नेछौँ ।’

‘चार वर्षअघि भूकम्पका कारण नष्ट भएका संरचना एक वर्ष्भित्र पुनःनिर्माण हुनेछ’ उनले भने, ‘धरहरा, रानीपोखरी केही राजमार्ग र केही महत्वपूर्ण संरचना बाहेक अन्यको हामी चाँडै पुनःनिमार्ण गर्छौ ।’


प्रधानमन्त्री ओलीले घुमाउरो भाषामा कांग्रेसको सरकार भएको समय पुनःनिर्माणले गति नलिएको बताउँदै आफ्नो सरकार आएसँगै पुनःनिर्माणले गति लिएको समेत बताए ।

प्रतिक्रिया दिनुहोस्