नेकपाको वार्षिकोत्सव कार्यक्रम :प्रचण्डले बोल्नासाथ किन मञ्च छाडेर हिँडे माधव नेपाल ?
काठमाडौँ, बैशाख १०, । नेपाल प्रज्ञा प्रतिष्ठानको हलमा आयोजित नेकपाको ७० औँ वार्षिकोत्सव कार्यक्रममा नौ वटा कुर्सी राखिएका थिए।
सचिवालयमा रहेका नौ जनाका लागि राखिएका ती कुर्सीमध्ये दुईटा विशिष्ट खालका कुर्सी थिए, सोफाबाला। अरु सातवटा सामान्य फलामका।
अर्थात् विशिष्ठ र कनिष्ठ झल्किने खालको दृष्य कुर्सीको व्यवस्थापनमा देखिन्थ्यो।
झण्डै साढे १ बजे कार्यक्रम हलमा चार नेता अध्यक्ष केपी शर्मा ओली, पुष्पकमल दाहाल, वरिष्ठ नेता माधव नेपाल र महासचिव विष्णु पौडेल एकैपटक भित्रिए।
उनीहरु छिर्नेवित्तिकै हलमा हुटिङ भयो। उनीहरुले अभिवादन गरे। त्यसअघि नै वरिष्ठ नेता झलनाथ खनाल लगायतका मञ्चमा पुगिसकेका थिए।
केपी ओलीको दायाँ सिटमा खनाल बसिसकेका थिए। पार्टीको वरिष्ठतम क्रममा ओली र दाहालपछि नेपाल छन्।
ओलीको दायाँ सिटमा खनाल र दाहालको बायाँ सिटमा वामदेव गौतम बसेका थिए। खनाल भन्दा पल्लो सिटमा बस्नुपर्ने अवस्था नेपाललाई आयो।
नेपाल पार्टीको वरिष्ठता क्रम ख्याल गर्ने नेता पर्छन्। महासचिव विष्णु पौडेलले दुई जना अध्यक्षले मात्र संवोधन गर्ने भन्दै अध्यक्ष दाहाललाई मञ्चमा बोलाए।
जब ओली र दाहालले मात्र मञ्च पाउने घोषणा भयो, नेता नेपाल मञ्चबाट बाहिरिए। नेपालनिकट एक नेताका अनुसार मञ्चमा दुई अध्यक्षलाई मात्र बोल्न दिने गरी कार्यक्रम डिजाइन गरिएको नेपालले हलमा पुगेपछि मात्र पत्तो पाए।
‘झलनाथसँग कुर्सी नमिलेको भन्ने प्रचार भयो, तर खास कुरा त्यो होइन,’ नेपाल निकट ती नेताले भने, ‘पार्टीको स्थापना दिवस र एकताको सन्देश दिने घोषणासभामा आफूलाई बाइपास गर्ने, ओली र दाहाललाई मात्र नेता मान्ने प्रवृत्ति देखियो, त्यसमा उहाँलाई चित्त बुझेन।’
प्रतिक्रिया दिनुहोस्