नेपाल कम्युनिस्ट पार्टीको ७० औं स्थापना दिवसमा जे देखीयो

काठमाडौ, ९ बैशाख । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को ७० औं स्थापना दिवस बनाएको नेपाल यसै दिवसको अवसरमा प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले विशेष सम्बोधन गरेका छन् ।
नेपाल कम्युनिष्ट पार्टीको ७० औं स्थापना दिवसको अवसरमा सोमबार राजधानीको प्रज्ञा भवनमा आयोजित कार्यक्रमका बीच नेकपाले जिल्ला नेतृत्व टुंगो लागेको घोषणा गरेपनि मन्चबाटै ‘असन्तुष्टिको आवाज’ देखा परेको पार्टीभित्र र बाहिर विश्लेषण हुन थालेको छ ।

जिल्ला नेतृत्वको घोषणा सहमतिको आधारमा गरिएको कार्यक्रममा पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डले दाबी गरेपनि बीचमै वरिष्ठ नेता माधव नेपालले बीचमै कार्यक्रम छाडेर हिँडेका कारण जिल्ला नेतृत्वमा विवाद रहेको आशंकालाई बल पुगेको हो ।

नेकपाले जिल्ला नेतृत्वको नामावली घोषणाका साथै पार्टी स्थापना दिवस पनि मनाउने उद्देश्यका साथ दिउँसो १२ बजेलाई कार्यक्रम तय गरेको थियो । निर्धारित समयभन्दा एक घण्टापछि सुरु भएको कार्यक्रममा सबैभन्दा पहिले शीर्ष नेतामध्ये इश्वर पोखरेल कार्यक्रम हलभित्र प्रवेश गरेका थिए । त्यसपछि रामबहादुर थापा बादल र उनीपछि बामदेव गौतम र झलनाथ खनाललगायत पुगेका थिए । रोचक त के भयो भने तेस्रो वरियताका नेताका लागि राखिएको कुर्सीमा चौथो बरियताका खनाल बसिदिए ।

यसरी चौथो बरियताका खनाल तेस्रो वरियताका नेपालको कुर्सीमा बसिदिएपछि ढिला गरी आएका नेता नेपाल अलमलमा परे ।

त्यसपछि नेता नेपालले पार्टी प्रवक्ता तथा सचिवालय सदस्य नारायणकाजी श्रेष्ठलाई नेता खनालको छेउमा रहेको कुर्सीमा बसिदिन इशारा गरे । तर, श्रेष्ठले मानेनन् र बाध्य भएर नेता नेपाल चौथो बरियताको कुर्सीमा बस्न बाध्य भए ।

नेताहरु सबै भेला भइसकेपछि कार्यक्रममा आसनग्रहणको क्रम सुरु भयो । आसन ग्रहणका क्रममा भने नेता नेपाललाई आगाडि राखिएको थियो । तर पनि असजिलो महसुस गर्दै नेता नेपालले करिब आधा घण्टा कार्यक्रमस्थलमा बिताए ।

नेताहरुको आसनग्रहणको कार्यक्रम सकिएपछि महासचिव विष्णु पौडेलले आइतबार साँझ बसेको सचिवालय बैठकबाट स्वीकृत भएको भनिएको ७७ वटै जिल्लाका अध्यक्ष र सचिवको सूची अध्यक्षद्वयसहित सबै सचिवालय सदस्यलाई थमाए ।

जब नेता नेपालले त्यो लिष्टलाई सरसर्ती हेरे तब एकाएक कार्यक्रमस्थलबाट बाहिरिन पुगेका थिए । नेपाल बाहिरिँदा त्यो लिस्ट उनको हातमै थियो भने उनी केही आक्रोशित जस्तो देखिन्थे । रोचक त के रह्यो भने एक पत्रकारको बिमोचन भएको पुस्तक उनलाई उपहारस्वरुप दिइएको पनि उनले त्यो समेत नलिइ बाहिरिएका थिए । सो पुस्तकलाई आफू बसेको कुर्सीमा सार्दै नेता नेपालको कुर्सीमा प्रवक्ता श्रेष्ठ बसेका थिए । र, केही समय खनालसँग श्रेष्ठ कानेखुसीमा व्यस्त देखिन्थे ।

लिस्टप्रति असन्तुष्ट हुँदै कार्यक्रमस्थलबाट बाहिरिएको अनुमान लगाउँदै केही नेता कार्यकर्तासमेत हलमा कानेखुसी गर्न व्यस्त देखिन्थे । ‘उहाँ कुनै विशेष अवस्थामा बाहेर यसरी बीचमै एकाएक बाहिरिने नेता होइन । पक्कैपनि लिस्टमा असन्तुष्टि जनाउँदै बाहिरिएको हुनुपर्छ’, एक कार्यकर्ता भन्दै थिए । विगतमा पनि नेतृत्वको विषयमा असन्तुष्टि राख्दै आएको र सहमति भन्दा दायाँबायाँ भएकाले नेपाल रुष्ट बन्दै बाहिरिएको हुन सक्ने ती कार्यकर्ताको भनाई थियो ।

ती कार्यकर्ताको आशंकालाई मलजल गर्नेगरी नेकपाका युवा नेता योगेश भटट्राईको पनि अभिव्यक्ति आएको छ । उनले नेकपाको जिल्ला नेतृत्व चयनप्रति असन्तुष्टि जनाउँदै गुटका आधारमा सूची टुंगो लगाएको दाबी गरेका छन् ।

‘जिल्ला कमिटी घोषणा गर्नु सकारात्मक र स्वागतयोग्य कुरा हो । तर, त्यसमा अपनाइएको विधि र प्रकृया गलत भयो । गुटगत स्वार्थ हावी भएको देखियो’ रातोपाटीलाई संक्षिप्त प्रतिक्रिया दिँदै नेता भट्टराइले भने, ‘एकता प्रकृयामा ढिलाइ भइरहेका बेला कमसेकम जिल्ला तहले नेतृत्व पाएको छ । यसको स्वागत गर्नुपर्छ तर प्रकृया चित्तबुझ्दो भएन ।’

उनले सचिवालयको त्यही निर्णय स्थायी कमिटी हुँदै केन्द्रीय कमिटीबाट अनुमोदन गरेर गरेको भए संगठनात्मक पद्धति नमिचिने भन्दै आगामी दिनमा नेताहरुलाई त्यसतर्फ ध्यान दिन सुझाव समेत दिए ।

कार्यक्रममा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गरेपछि ओलीले बोल्नु अघि भिडियो सन्देश प्रशारण गरियो । जसमा दुबै अध्यक्षले आलोपालो बोलेका थिए । कार्यक्रम सञ्चालक महासचिव विष्णु पौडेलले पार्टी अध्यक्षद्धयको भौतिक शरीर अलग भएपनि विचार र कार्यशैली एक भएको रुपमा त्यसलाई अथ्र्याए ।

त्यसपछि सम्बोधन गरेका ओलीले सुरुमा ‘एक दिन हामी जित्नेछौं’ भन्ने गीत गाएर आन्दोलनमा हिडेकाहरुको जितको सपना हासिल भएको बताए । प्रमुख विपक्षी नेपाली कांग्रेसमाथि निशाना साँधेका छन् । उनले ठूलो छलाङको आँट गरेको भन्दै अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको भने प्रशंसा गरे ।

त्यसपछि उनले कांग्रेसमाथि धावा बोले । २००७ सालदेखि नै कांग्रेस प्रगतिशील शक्तिविरुद्ध उभिएको र प्रतिक्रियावादी शक्तिसँग घाँटी जोडेको आरोप लगाए । उनले अघि भने, ‘कांग्रेसले त्यो बाटो अहिलेसम्म सच्याउन सकेको छैन । लगातार देशभक्त, जनवादी, वामपन्थी शक्तिसँग मिलेर अगाडि बढ्नुपथ्र्यो कांग्रेस । तर, एकाध पटक हामीले धेरै दबाव दिएर बाध्य पार्दा मात्र सहकार्यमा आउने, नत्र प्रतिक्रियावादीसँग घाटी जोड्ने गलत नीति लियो ।’ यदि कांग्रेस लोकतान्त्रिक शक्ति हो भने प्रतिक्रियावादी शक्तिसँग सहकार्य गर्नुपर्ने उनले बताए ।

तर, अहिले पनि कांग्रेसका धेरै नेताहरु राजतन्त्र फर्काउने सपना देखेर हिड्दा अचम्म लागेको उनले बताए । कुनै पनि लोकतन्त्रवादीले जनसिद्ध श्रेष्ठताका आधारमा मेरो शासक भइदेउ भनेर निवदेन नहाल्ने प्रधानमन्त्री ओलीले बताए ।

प्रधानमन्त्री ओलीले कम्युनिस्ट पार्टीको सरकार हरेक दिन एक कदम अगाडि बढेको बताए । भेरी(बबई भाइभर्सनको सुरुङ ‘ब्रेक थ्रु’ गर्नुका साथै वृद्धबृद्धाको स्वास्थ्य बीमालगायतको कार्यक्रम यो वर्ष मात्र सुरु गरेको उनले सुनाए ।

भ्रष्टाचारको सम्बन्धमा कुनै मोलाइजा नगर्ने उनले बताए । सुनकाण्डमा सरकार सफल भएको भन्दै उनले भने, कानमा दुई लालको फुली लगाउन पाएको हुँदैन, चार आनाको औठो लगाउन पाएको हुँदैन । ३८ टन हो कि क्विन्टल ।’

आफ्नो सरकारले त्यो तस्करीको प्वाल झप्पै बन्द गरिदिएको उनले बताए । त्यसपछि भनियो, खोइ सुन ? त्यसबेलाका ९सरकार० ले थाहा पाउनु पर्ने हो । हामीले त प्वाल टाल्यौं, कारबाही भइरहेको छ । अब सुनको तस्करी हुँदैन, चल्दैन ।’

मेलम्ची खानेपानीमा ठेकदार भागेपनि मेलम्ची नै बन्दैन भन्ने नभएको उनले बताए ।
कम्युनिस्ट पार्टी नेतृत्वको सरकार भएकै कारण धेरै काम भएको भन्दै प्रधानमन्त्री ओलीले भने, ‘कपडाकै पट्टी नबाँधेपनि चेतना वा आग्रहको पट्टी बाँधेपछि केही पनि भएको देखिँदैन । नभए तथ्य र आंकडाहरुले भन्छ ।’

अर्थतन्त्र साह्रै डामाडोल भएकाले गत वर्ष बजेटमा वृद्धभत्ता नथप्दा धेरै बाँसुरी बजेको उनले बताए । ‘अबको बजेट आएपछि के भन्लान तिनले’ बृद्धभत्ता बढ्ने प्रष्ट संकेत गर्दै प्रधानमन्त्री ओलीले भने, ‘अब त्यो बाँसरी पनि सकिन्छ ।’

नेताहरुले बोल्दा तलमाथि पर्ने गरेकाले पार्टी एकतावद्ध छैन कि भन्ने चर्चा हुने गरेको बताए । केही ज्योतिषीले त यो महिना फुट्छ भनेर भविश्यबाणि गर्न थालेको भन्दै उनले भने, ‘दुईटा पार्टी मिल्छ भन्ने किन थाहा पाएन ज्योतिषीले ।’

नेकपा अध्यक्ष एवं प्रधानमन्न्त्री ओलीले भवितव्यले पार्टी एकता नभएको बताए । उनले ठूलो छलाङको आँट गरेको भन्दै अर्का अध्यक्ष प्रचण्डलाई धन्यवाद दिए ।

सम्बोधनको अन्त्य गर्दै उनले भने, ‘विशेष गरी कमरेड प्रचण्डलाई धन्यवाद भन्न चाहन्छु, उहाँले एकता प्रयासलाई त्यही गम्भीरताका साथ नलिनु भएको भए, उहाँले फराकिलो पनका साथ ठूलो छलाङको आँट नगर्नु भए यो एकता हुने थिएन ।’

प्रतिक्रिया दिनुहोस्