विप्लव समूहको चेतावनी -दमन नरोकिए सरकारविरुद्ध कडा प्रतिकारमा उत्रन्छौं

काठमाडा, बैशाख ८ं । नेत्रविक्रम चन्द(विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आफ्नो पार्टीमाथि दमन नरोकिए सरकारविरुद्ध कडा प्रतिकारमा उत्रने चेतावनी दिएको छ ।

महासचिव नेत्रविक्रम चन्दले विज्ञप्ति जारी गर्दै सरकारले आफ्नो पार्टीका नेता तथा कार्यकर्तालाई पक्राउ गरेर यातना दिइरहेको भन्दै दमन नरोके प्रतिकार गर्न बाध्य हुने चेतावनी दिएका हुन् ।

उनले सशक्त प्रतिरोधका लागि आफूहरुलाई बाध्य नपार्न समेत सरकारलाई सचेत गराएका छन् ।

सरकारले आफ्नो पार्टीमाथिको प्रतिबन्ध नहटाए सशक्त प्रतिरोध गर्न बाध्य हुने चेतावनी विज्ञप्तिमा दिइएको छ ।

प्रहरीले शुक्रबार मात्रै सो पार्टीका केन्द्रीय सदस्यहरु चुडामणि ओली र चन्द्रबहादुर खड्कालाई पक्राउ गरेको थियो ।

त्यसलगत्तै विज्ञप्ति जारी गर्दै चन्दले गिरफ्तार गरिएका सबै नेता तथा कार्यकर्ताको रिहाइको माग गरेका छन् ।

चन्द नेतृत्वको नेकपाका गतिविधिलाई सरकारले प्रतिबन्ध लगाएको छ ।

प्रतिक्रिया दिनुहोस्