वास्तविक सुकुम्वासीको समस्या समाधान गरिन्छ: प्रधानमन्त्री ओली

काठमाडौं, बैशाख ७ । प्रधानमन्त्री केपी शर्मा ओलीले सुकुम्वासीका समस्या समाधान नगरेका कारण ठूलो देखिएको बताएका छन् ।

नवलपुर जिल्लाको कावासोती नगरपालिका वडा नम्बर ३ मा नमुना सदरमुकामको शनिबार शिलान्यास गर्दै प्रधानमन्त्री ओलीले सुकुम्बासीको समस्या ठूलो समस्या नै नभएको बताएका हुन् ।

उनले भने ,‘सुकुम्वासीको समस्या ठुलो समस्या नै होइनन् । समाधान नगरेर बनेका हुन् ।’

घरखेत नभएका नै वास्तविक सुकुम्वासी भएको भन्दै उनले वास्तविक सुकुम्वासीको पहिचान गरेर समस्या समाधान गरिने बताए।

उनले भने ,‘कावासोतीमा घर छ, बर्दघाटनमा गएर घडेरी कब्जा गर्यो भनेर सुकुम्वासी हुने पनि चलन छ । नारायणघाटमा ४ तले घर छ यहाँ आउँदा घडेरी छैन भने यहाँ सुकुम्वासी । यहाँ पनि एउटा घडेरी लिने । त्यो पनि चलन छ । त्यस्तो सुकुम्वासी होइन । वास्तविक सुकुम्वासीको समस्या समाधान गरिन्छ ।’

प्रधानमन्त्री ओलीले प्रदेशका विकास निर्माण लगायतका काममा जिम्मेवार ढंगले प्रस्तुत हुन मुख्य मन्त्रीलाई सुझाव दिए। उनले आफ्नो प्रदेशको आवश्यकता र विकासका सम्बन्धमा केन्द्र सरकारका अगाडि शर्त राखेर गैर जिम्मेबार नबन्न मुख्य मन्त्रीलाई सुझाव दिए ।

योजनाबद्ध र दीर्घकालिन दृष्टिकोण राखेर सरकारले विकासका कामहरुमा अघि बढाएको उल्लेख गर्दै उनले निकट भविष्यमा नै मुलुकका संभाव्य सबै स्थानमा जलमार्ग सुरु गरिने दावी गरे ।

जिल्लाका एकीकृत सरकारी कार्यालय रहने गरी १ सय ८६ बिगाहा क्षेत्रफलमा नमुना सदरमुकाम बनाउन लागिएको हो ।

प्रतिक्रिया दिनुहोस्