राप्रपाद्वारा राजमार्गमा सत्याग्रहको कार्यक्रम स्थगित, दोस्रो चरणको आन्दोलन गर्न समिति गठन

काठमाडौं, बैशाख ७ । राप्रपाले राजमार्गमा सत्याग्रहको कार्यक्रम स्थगितगरेको छ । उसले सत्याग्रहको कार्यक्रम स्थगितगरेर दोस्रो चरणको आन्दोलनको तयारी थालेको हो ।

कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) ले आइतबारको लागि तय गरेको राजमार्ग र चोकहरुमा सत्याग्रहको कार्यक्रम स्थगित गरेको छ ।

दोश्रो चरणको कार्यक्रम थप प्रभावकारी बनाउनु पर्ने भएकाले जारी पूर्वनिर्धारित राजमार्ग र चोकहरुमा सत्याग्रहको कार्यक्रम स्थगित गरिएको राप्रपा प्रचारविभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार यो कार्यक्रम दोश्रो चरणको संर्घषमा समावेश गरिनेछ ।

आज शनिबार बसेको पार्टीको केन्द्रीय कार्य समितिको आकस्मिक बैठकले दोश्रो चरणको संघर्षको कार्यक्रमलाई थप प्रभावकारी बनाउन राप्रपाले कार्यदल गठन गरेको छ ।

बैठकले हिन्दु राष्ट्रको पुनःस्थापना, राजसंस्था लगायतका मुद्दामा समान विचार भएका दल, संस्था र व्यक्तिलाई सहकार्य र एकताका लागि राप्रपा आह्वान समेत गरेको छ।

नेपाललाई हिन्दु राष्ट्र बनाइनुपर्ने, राजा सहितको लोकतन्त्र स्थापनाका लागि सर्वपक्षीय गोलमेच सम्मेलन गरिनुपर्ने, संघीयता बारे जनमतसंग्रह गरिनुपर्ने लगायतका २२ बुँदे माग राख्दै राप्रपाले चरणबद्ध संघर्ष गर्दै आएको छ।

फागुन ७ गते प्रधानमन्त्री केपी ओलीलाई माग पूरा गर्न ध्यानाकर्षण गराएको राप्रपाले त्यसयता पहिलो चरणको जनसंघर्षका कार्यक्रम सम्पन्न गरिसकेको छ ।

जसअनुसार राप्रपाले मेची महाकाली १५ दिने राष्ट्रिय स्वाभिमान यात्रा, हिन्दु राष्ट्रका लागि देशव्यापी हस्ताक्षर संकलन अभियान, संघ, प्रदेश र जिल्लाका प्रशासनिक र विकास केन्द्रीत कार्यालयमा धर्ना, धर्म निरपेक्षताको ब्यानर र पोष्टर जलाउने कार्यक्रमहरु सम्पन्न गरेको हो।

प्रतिक्रिया दिनुहोस्