मन्त्री पण्डित भन्छन् -कर्मचारी समायोजनमा देखिएको असन्तुष्टि तत्काल हल हुन्छ ‘ चिन्ता नलिनुस् ‘

काठमाण्डौ, बैशाख ५ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले कर्मचारी समायोजनमा देखिएको असन्तुष्टि तत्काल हल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

कर्मचारी समायोजनमा असन्तुष्टि जनाउँदै सरकारी चिकित्सकहरुले समेत आन्दोलन गरिरहेका बेला मन्त्री पण्डितले सम्बन्धित पक्षसँग छलफल गरी ती समस्या तत्काल हल गर्ने बताएका हुन्।

बिहीबार संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उहाँले प्रदेश र स्थानीय तहमा समायोजन गरिएका कर्मचारीहरुको वृद्धि विकास नरोकिने गरी कानुनी व्यवस्था गर्न ‘संघीय निजामती सेवा ऐन’ ल्याइएको पनि स्पष्ट पारे ।

मन्त्री पण्डितले ऐन पारित हुनेबित्तिकै संघ, प्रदेश र स्थानीय तहमा जनशक्तिको अभाव नहुने गरी सरकारले आफ्नो कामलाई तीव्रता दिने योजना पनि अघि सारे ।

उनले संघीयता अनुकूल हुने गरी ल्याइएको सो ऐनलाई समृद्ध बनाउन पनि समितिका सदस्यहरुलाई आग्रह गरे ।

बैठकमा सांसदहरुले प्रत्यायोजित अधिकार दिएर काम गर्ने काम नगर्न सरकारलाई सचेत गराएका थिए । प्रतिनिधिसभाका सांसद गणेश पहाडीले कर्मचारी समायोजनको कामा पनिम प्रत्यायोजित अधिकार दिने काम धेरै भएको उल्लेख गर्दै असन्तुष्टि व्यक्त गरे ।

संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा छलफल सुरु गरिएको सो ऐनमा ४२ वटा संशोधन परेको छ ।

प्रतिक्रिया दिनुहोस्