नेपाली कांग्रेसले घोषणा गर्यो राष्ट्रिय जागरण अभियान ,अभियान ३ चरणमा
काठमाडौं , बैशाख ३ । नेपाली कांग्रेसले जनजागरण थाल्ने भएको छ। जागरण अभियान ३ चरणमा गर्ने कांग्रेसले बताएको छ।
अभियानको नाम ‘हिमाल पहाड तराई मधेस, नेपाली कांग्रेस’ राखिएको छ।
अभियानअन्तर्गत पहिलो चरणमा देशभरका सबै जिल्लामा वैशाख ११ देखि जेठ ११ सम्म कांग्रेसले अभियान चलाउने बताएको छ।
आज दिउँसो पार्टी कार्यालय सानेपामा कांग्रेसले पत्रकार सम्मेलनमार्फत सो कुराको जानकारी दिएको हो।
वैशाख ११ गतेको कार्यक्रममा केन्द्रीय नेताहरु प्रतिनिधि बनेर सबै जिल्लामा जाने प्रवक्ता विश्वप्रकाशले जानकारी दिए। पहिलो चरणमा काठमाडौंबाट देउवाले अभियानको शुभारम्भ गर्ने बताइएको छ।
त्यस्तै दोस्रो चरणअन्तर्गत भदौ २४ देखि असोज ७ सम्म जागरण अभियान चलाइने कांग्रेसले बताएको छ। यो अभियान प्रदेशस्तरी निर्वाचन क्षेत्रमा चलाइने छ।
तेस्रो चरणको अभियान भने पुस ७ देखि १६ गतेसम्म चलाइने कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिएका छन्। यो देशका सबै स्थानीय तहमा सञ्चालन गरिने छ।
अभियानकै क्रममा कांग्रेसले पार्टी सदस्यता वितरणलाई पनि तीव्रता दिने जनाएको छ।
अभियानका लागि भ्रातृ संस्थालाई पनि खटाइने बताइएको छ।
जसअन्तर्गत महिला संघले महिला जागरण अभियान, तरुण दललाई सरकारको गलत कामको साथै भ्रष्टाचारविरुद्ध अभियान चलाउन जिम्मेवारी दिइएको छ।
पत्रकार सम्मेलनमा उपसभापति निधि, अर्का उपसभापित गच्छदार, महामन्त्री कोइराला, सहमहामन्त्री पकाशशरण महत, कोषाध्यक्ष सीतादेवी यादव लगायतको सहभागिता थियो।
प्रतिक्रिया दिनुहोस्