महामन्त्री कोइराला भन्छन् – पानीजहाज चलाउनुभन्दा सार्वजनिक यातायातलाई व्यवस्थित गरौं

काठमाडौं , बैशाख १ । नेपाली काँग्रेसका महामन्त्री डा. शशांक कोइरालाले नेपालमा अहिले पानीजहाज चलाउनुभन्दा सार्वजनिक यातायातलाई व्यवस्थित बनाउन आवश्यक रहेको बताएका छन् ।

कांग्रेस बनेपा नगरसमितिले आयोजना गरेको नयाँ वर्षको शुभकामना आदानप्रदान तथा क्यालेण्डर विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री कोइरालाले सरकार जनताका अत्यावश्यक काम गर्ने भन्दा ठूला–ठूला सपना बाँड्न लागेको बताए ।

‘नेपाली नागरिक अहिले सार्वजानिक यातायातमा सुधार खोजिरहेका छन् । तर प्रधानमन्त्री रेल र पानी जहाजको सपना बाँडिरहनुभएको छ । सरकारले काम भन्दा बढी गफ गर्न लागेको छ । यो राम्रो होइन,’ उनले भने ।
महामन्त्री कोइरालाले प्रधानमन्त्री केपी शर्मा ओली जनताका आवश्यकता पूरा गर्ने भन्दा आफू शक्तिशाली बन्ने बाटोको खोजीमा मात्र लागेको आरोप लगाए ।

उनले ओली सरकार भ्रष्टाचारमा चुर्लम्म डुबेको बताउँदै यो सरकारबाट सुशासन र विधिको शासनको कल्पना गर्न नसक्ने बताए ।

महामन्त्री कोइरालाले सरकारका गतिविधी हेर्दा कांग्रेसले आफ्नो शक्ति आर्जनमा ढिलाइ गर्न लागेको आफूलाई आभाष भएको बताए । उनले कांग्रेसले शक्ति आर्जनका लागि पहिले आफूबीचमा एकता गर्नुपर्नेमा जोड दिए ।

कोइरालाले आफू कांग्रेसलाई भावनात्मक रुपमा एक बनाउने अभियानमा रहेको समेत स्पष्ट पारे ।

प्रतिक्रिया दिनुहोस्