अन्तिममा आएर काँग्रेस केन्द्रीय कार्य समिति बैठक स्थगित

काठमाडौं, चैत २३ । शनिबारका लागि बोलाइएको नेपाली काँग्रेस केन्द्रीय कार्य समिति बैठक अन्तिम समयमा आएर स्थगित भएको छ ।

पार्टीको केन्द्रिय कार्य सम्पादन समिति गठन गर्ने मुख्य एजेन्डासहित पार्टी केन्द्रीय कार्यालय सानेपामा बोलाइएको केन्द्रिय कार्य समिति बैठक अन्तिम समयमा आएर स्थगित भएको हो ।

शीर्ष नेताहरुबीच व्यापक सहमति खोजेर केन्द्रिय कार्य सम्पादन समिति गठन गर्न सभापति शेरबहादुर देउवाले बैठक स्थगित गरेको पार्टीका केन्द्रीय सदस्य महेन्द्र यादवले बताए ।

सभापति देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच शुक्रबार केन्द्रिय कार्य सम्पादन समिति गठनका विषयमा सहमति जुटेको बताएपनि सो सहमतिमा नेता कृष्णप्रसाद सिटौलाले असहमति जनाएका थिए ।

काँग्रेसको नयाँ विधानमा २८ वटा विभागहरु गठन गर्ने व्यवस्था गरिएको छ । तर सभापति देउवाले ती विभागहरु गठन गर्न नसकेको वरिष्ठ नेता पौडेल र नेता सिटौला पक्षको आरोप छ ।

विभाग गठनका लागि देउवामाथि दवाव परेपछि काँग्रेस केन्द्रिय कार्य समिति बैठकले अनुशासन समिति, निर्वाचन समिति यस अघि नै गठन गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्