कार्यसम्पादन समिति गठनमा काँग्रेस, समाप्त होला त विवाद ?
काठमाडौं, २३ चैत । वातावरणीय मौसम चिसो भएपनि नेपाली कांग्रेस पार्टी भित्रको राजनीतिक अन्तरद्वान्दको मौसमभने तातिएको छ ।
वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता कृष्ण प्रसाद सिटौलाले आफूनिकट जिल्ला सभापतिहरुको भेलाले विशेष महाधिवेशन गर्न हस्ताक्षर अभियान गर्नेसम्मको कार्यपछि काँग्रेसभित्रको अन्तरद्वान्द झन तातिएको हो ।
सभापति शेरबहादुर देउवालाई असक्षम नेतृत्व मानिएको काँग्रेसले शनिबार कार्यसम्पादन समिति गठनको तयारी गरेको छ ।
कांग्रेसले कार्यसम्पादन समिति गठनलाई एजेण्डा बनाएर आज शनिबार केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । वरिष्ठ नेता रामचन्द्र पौडेल समूहबीच भागवण्डा मिलेकोले शीर्ष नेताहरुको बैठकमा कार्यसम्पादन समिति गठनको सम्भावना बढेर गएको स्रोतको दाबी छ ।
एक नेताका अनुसार पदाधिकारीसहित २९ सदस्यीय कार्यसम्पादन समिति बन्नेछ । सभापतिसहित ७ जना पदाधिकारी छन् भने एकता प्रक्रियाबाट आएका विजयकुमार गच्छदार स्वत पर्ने छ । अब बाँकी २१ जनामा भागवण्डा भएको छ ।
पार्टी सभापति देउवाले ६० र४० को भागवण्डाका आधारमा वरिष्ठ नेता पौडेल समूहबाट ८ जनाको नाम मागेका छन् । यसमा वरिष्ठ नेता पौडेल, महामन्त्री सशांक कोइराला र कोषध्यक्ष उनकै पक्षको जोड्दा ४० प्रतिशत हाराहारहुन जान्छ ।
बाँकी १२ जना देउवा समूहबाट आउनेछन् । १३ औं नम्बरमा कृष्ण सिटौला पर्नेछन् । स्रोतका अनुसार बैठकमा सभापति देउवाले सिटौलालाई समेत समेटेर ८ जनाको नाम मागेका थिए । तर, पौडेलले कहाँ हुन्छ ? महाधिवेशनमा मलाई भोट दिएका थिए र ? भन्ने प्रश्न तर्साएको एक नेताले बताए । सिटौला भने ‘मैले तपाईहरुको कुरा बुझेँ’ भन्दै बैठक स्थलबाट बाहिरिएका थिए ।
स्रोतका अनुसार सिटौलालाई सभापतिको भागबाट राख्ने गरी सहमति जुटेको छ । दुबै पक्षले नाम दिए भोलि नै कार्यसम्पादन समिति गठन गर्ने तयारी छ । यसअघि पनि कार्यसम्पादन समिति बनाएको थियो तर विधान विपरीत धेरै संख्या राखेको भन्दै केन्द्रीय कार्यसमितिमा चर्को आलोचना भएपछि विघटन गरिएको थियो ।
बैठकमा संसदीय बोर्ड गठन, केन्द्रीय विभागका संयोजक चयन लगायतका विषयमा पनि छलफल हुने छ । १३ औं महाधिवेशन भएको तीन वर्ष पुगिसक्दा पनि कांग्रेसले केन्द्रीय विभागहरु गठन गर्न सकेको छैन । नयाँ विधानअनुसार २८ केन्द्रीय विभाग हुन्छन् ।
कांग्रेसले जागरण अभियान चलाउने तयारी :
कांग्रेसले नयाँ वर्ष २०७६ लागेसँगै जागरण अभियान चलाउने तयारी पनि गरेको छ । शुक्रबार शीर्ष नेताहरुको बैठकमा पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले यसबारे ब्रिफिङ गरेका थिए ।
प्रस्तावित कार्यक्रम अनुसार मध्य बैशाखबाट सुुरु हुने जागरण अभियान तीन चरणमा हुनेछ र वर्षभर चल्ने प्रवक्ता शर्माले बताए ।
प्रतिक्रिया दिनुहोस्