नागरिकता विद्येयक तत्काल खारेज नगरे राष्ट्रियतानै खतरामाः अध्यक्ष केसी

काठमाडौं, चैत २२ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष एवम् पूर्व उपप्रधानमन्त्री चित्रबहादुर केसीले संसदमा प्रस्तुत नागरिकता विद्येयक तत्काल खारेज नगरे राष्ट्रियतानै खतरामा पर्ने स्पष्ट पारेका छन् ।

शुक्रबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै अध्यक्ष केसीले सो कुरा बताएका हुन् । कार्यक्रममा बोल्दै अध्यक्ष केसीले सदनमा प्रस्तुत उक्त विद्येयक तत्काल खारेज नगरे नेपालको अस्तित्व नै समाप्त हुने खतरा औंल्याए ।

उनले भने,‘नागरिकता विद्येयक सदनमा छलफलकै क्रममा छ, तर मन्त्रिपरिषदको बैठकले देशैभरिका जिल्ला प्रशासन कार्यालयलाई अंगीकृत नागरिकका सन्तानलाई वंशजको आधारमा नागरिकता दिन सर्कुलर जारी गरेको छ । यो अत्यन्तै गम्भिर र गलत कुरा हो । तत्काल खारेज गर्नुपर्छ ।’

संसदबाट विद्येयक पारित हुन बाँकी रहेको अवस्थामा सरकारले यसरी ‘सर्कुलर’ जारी गर्नु अत्यन्तै गम्भिर रहेको बताउँदै उनले यसमा आफ्नो पार्टीको आपत्ति रहेको बताए ।

उनले उक्त विद्येयकले नेपालमा जन्मिएका बास्तविक नागरिकहरुलाई नागरिकता दिनबाट बञ्चित गराईने र विदेशबाट आएकाहरुलाई नागरिकता दिने बाटो खोलिदिएको आरोप लगाए ।

साथै उनले नेकपाका अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले हालै तराईमा पुगेर नागरिकता विद्येयकबारे गलत टिप्पणी गरेको भन्दै उनले आपत्ति जनाए ।

प्रतिक्रिया दिनुहोस्