सेयर बजारमा सामान्य गिरावट, खरिदबिक्री भने सन्तोसजनक
काठमाडौं, २१ चैत । नेप्से सूचक बिहीबार ०.६४ अंकले घटेर ११६५.२० विन्दुमा अडिएको छ । १७२ कम्पनीको ४२ करोड ३४ लाख रुपैयाँभन्दा धेरैको सेयर कारोबार भएको छ । १७ लाख ६९ हजार ७०० कित्ता सेयर खरिदबिक्री भएको छ ।
कुल १० वटा समूहको सेयर कारोबार भएकामा ४ वटा समूहका सूचक माथि लागेका छन् भने बाँकी समूहका सूचक तल झरेका छन् । होटेल समूहको सूचक सबैभन्दा धेरै २३.४८ अंकले घटेको छ । यता, वाणिज्य बैंक समूह भने ०.९५ अंकले माथि लागेको छ ।
कारोबार रकममा एनआइसी एसिया बैंकले अग्रता लिएको छ । एनआइसीको ४ करोड ७१ लाख रुपैयाँभन्दा धेरैको सेयर कारोबार भएको हो । कारोबार रकमकै आधारमा दोस्रो र तेस्रो स्थानमा क्रमशः एनसीसी बैंक र सिभिल बैंक परेका छन् ।
साताको अन्तिम दिन बिहीबार सेयर कारोबार मध्यम देखिएको छ । नेप्से सूचक सामान्य दबाबमा पर्दा कारोबार रकम समग्रमा राम्रै देखिएको छ । बुधबार भन्दा केही घटे पनि खरिदबिक्री भने कमी आएको छैन । केही दिनयता पूँजी बजारमा लगानीकर्ता आकर्षित हुन थालेको अनुमान गरिएको छ । लगानीकर्ताले विस्तारै खरिदक्रम तर्फ उन्मुख भएको कारोबार बारोबारबाट आकलन गर्न सकिन्छ ।
विगतमा दैनिक २० देखि २५ करोड हाराहारीमा कारोबार रकम खुम्चिएको सेयर मार्केट केही दिनयता त्यो प्रवृत्तिमा सुधार हुँदै गएको हो । खरिदबिक्री रकममा सुधार हुँदा बजारप्रति थप आशावादी बन्न सकिने सम्भावना रहन्छ । यसले लगानीकतामा उत्साह पनि थपिएको छ । नेप्सेको घटबढ सामान्य प्रक्रिया हो । सूचकसँगै कारोबार रकममा तेजी आउन सकेमा बजारको दीगो सुधारको अनुमान गर्न सकिन्छ ।
चैत अन्तिम साता सुरु हुँदै गर्दा कारोबारमा सुधार आएको छ । वैशाख लाग्ने बित्तिकै तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक हुन थाल्नेछ । कम्पनीहरुले नाफा वृद्धि गरेको अनुमान गरिएको छ । नाफाले लगानीकर्ता आकर्षित गर्ने देखिन्छ ।
त्यसो त अधिकांश कम्पनीहरुको सेयर भाउ निकै सस्तो भइसकेको छ । सस्तो भाउको सेयर किन्न दीर्घकालीन लगानीकर्ता आकर्षित हुने अवस्था छ । फेरि, चैत मसान्तमा म्युचुअल फन्ड, ठूला र संस्थागत लगानीकर्ताले पनि बजार बढाउने प्रयास गरिरहेका हुन्छन् । चैत मसान्तमा लगानीकर्तालाई बैंक कर्जाको साँवा र ब्याज भुक्तानी गर्ने चटारो पर्छ ।
यसैगरी, सरकारलाई कर तिर्ने चटारो पनि परिरहेको हुन्छ । यसले बजारमा केही बिक्री चाप आउने विगतको प्रवृत्ति छ । तर अहिले बजारमा बिक्रेतासँगै क्रेताहरु पनि उत्तिकै हावी भइरहेको ब्रोकरहरुको भनाई छ । सेयर बजार सुधारको क्रममा छ । सरकार, केन्द्रीय बैंक, धितोपत्र बोर्ड, नेप्से तथा सीडीएसले आ–आफ्नो ठाउँबाट सुधारका काम निरन्तर रुपमा अघि बढाइरहेका छन् ।
प्रविधि, कानुनी र नीतिगत सुधारले सेयर बजारमा सकारात्मक प्रभाव पार्ने अनुमान गर्न सकिन्छ । सेयर धितो कर्जाको सीमा वृद्धि, ब्रोकर मार्फत मार्जिन कारोबार खुला, लिलामी सेयर उपत्यका बाहिरबाट भर्न पाउने व्यवस्था, अनलाइन प्रणालीको सुरुवात लगायतले बजार विस्तारमा सहयोग पुग्ने देखिन्छ । ब्रोकर सेवा गाउँगाउँसम्म विस्तार हुँदैछ । यसबाट नयाँ लगानीकर्ता थप्न सहयोग पुग्नेछ ।
प्रतिक्रिया दिनुहोस्