एसइई प्रश्नपत्र बाहिरिनु सरकारको अनुत्तरदायी र नालायकीपनको पराकाष्ट भएको कांग्रेसको ठहर
काठमाडौं, चैत १७ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले माध्यामिक शिक्षा परीक्षा (एसइई) को प्रश्नपत्र परीक्षा समय अगावै बाहिरिएर समय तालिकाभित्र परीक्षा सम्पन्न हुन नसक्नु सरकारको गैरजिम्मेवारी, अनुत्तरदायी र नालायकपनको पराकाष्ट भएको ठहर गरेको छ ।
संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाणले आइतबार विज्ञप्ति जारी गर्दै प्रश्नपत्र बाहिरिएकोमा सरकारका पदाधिकारीले एक अर्कोलाई जिम्मेवारी थोपर्नु सरकार र सरकारका पदाधिकारीहरुको ज्यादै गैरजिम्मेवारी कार्य भएको जनाएका छन् ।
उनले यस घटनाको जिम्मेवारी सरकारले लिनुपर्ने प्रष्ट पार्दै भनेका छन्, ‘यसबाट विद्यार्थी र अभिभावकमा पर्न गएको पीडाको लागि सरकारले माफी माग्दै दोषी उपर कारवाही गर्न र स्थगन भएको परीक्षाको अविलम्ब मिति तय गरी परीक्षा सम्पन्न गर्नुका साथै सयममै परीक्षाफल प्रकाशन गर्न नेपाल सरकारसँग जोडदार माग गर्दछौं ।’
विज्ञप्तिमा शिक्षा सेवामा अनुत्तीर्ण भएका र परीक्षामा सहभागी हुन नपाएका शिक्षकलाई अवकाश दिने सरकारको निर्णयको पनि विरोध गरिएको छ । ‘भर्खरै शिक्षा सेवा आयोगबाट शिक्षकहरुको आन्तरिक परीक्षाको नतिजा प्रकाशन भएको छ ।
शिक्षा सेवामा अनुत्तीर्ण हुने र परीक्षामा सहभागी हुन नपाएका शिक्षकहरुलाई सरकारले अवकाश दिने निर्णय गरेको छ,’ प्रमुख सचेतक खाणले विज्ञप्तिमा भनेका छन्, ‘ अवकाश हुने शिक्षकहरुको मागको बेवास्ता गर्दै रिक्त हुने शिक्षकहरुको संख्या व्यवस्थापन नगरी मावि तह स् ११०८, निमावि तह स् १६३५, प्रावि तह स् ९९९६ गरी कुल १२ हजार ७३९ शिक्षकलाई अवकाश दिने सरकारको परिपत्र एवं निर्देशन अत्यन्त गैरजिम्मेवारपूर्ण कार्य हो ।’
सरकारको यस्तो गैरजिम्मेवार कार्यले गर्दा विद्यालयहरुको वार्षिक परीक्षाको अन्तिम नतिजा प्रकाशन गर्ने र सँगैसँगै नयाँ शैक्षिकसत्र प्रारम्भको समयमा विद्यालयहरुमा शिक्षकहरु रिक्त रहने अवस्था सृजना भएको कांग्रेसको ठहर छ ।
‘शिक्षकहरुको मागलाई सम्बोधन गर्दै सामुदायिक विद्यालयमा यथाशीघ्र शिक्षकको व्यवस्थापन गरी विद्यालयको पठनपाठन र शैक्षिक वातावरण कायम गर्न समेत सरकारको ध्यानाकर्षण गराउँदछौं,’ विज्ञप्तिमा भनिएको छ ।
प्रतिक्रिया दिनुहोस्