कम्युनिस्ट अधिनायकवादविरुद्ध लड्न तयार रहन कार्यकर्तालाई देउवाको आग्रह

काठमाडौं, चैत १७ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आन्तरिक विवादले कांग्रेस कमजोर भएको बताएका छन्।

कांग्रेस गुल्मीले गरेको प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रममा देउवाले कांग्रेस पाटीभित्रको आन्तरिक विवाद अन्त्य गरेर एक ठाउँमा उभिनुपर्ने बताए। नेताहरू गुटगत स्वार्थ छाडेर एक ठाउँमा उभिने बितिकै पार्टी बलियो हुने दाबी गरे।

चुनावमा कांग्रेसभित्र घात, अन्तर्घात भएको उल्लेख गर्दै सभापति देउवाले आफ्नैलाई हराएर बहादुरी देखाउनेलाई पहिचान गरी कारबाही नगर्दासम्म पार्टी कमजोर रहिरहने बताए।

पार्टीले अनुशासन समिति गठन गरिसकेकाले अब पार्टी हितविपरीत काम गर्नेलाई कडा कारवाही गर्ने देउवाको चेतावनी थियो।कम्युनिस्ट सरकार अधिनायकवादको कदममा अघि बढेकाले यसका विरुद्ध लड्न तयार रहन कार्यकर्तालाई आग्रह समेत गरे।

कम्युनिस्ट अधिनायकवादविरुद्ध लड्न पार्टी एक ढिक्का हुनुपर्ने बताए। वर्तमान सरकारका काम कारवाही र गतिविधिले कम्युनिस्टहरू आफैं पतन भएर जाने देउवाको दाबी छ।

सरकार लोकतन्त्र र संविधानविपरीत चलेको आरोप लगाए।

प्रतिक्रिया दिनुहोस्