नेकपाका अध्यक्ष दाहाल स्वदेश फिर्ता



काठमाण्डौ , चैत १५ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ धर्मपत्नी सीता दाहालको स्वास्थ्योपचारपछि संयुक्तराज्य अमेरिकाबाट स्वदेश फर्किएका छन्।

बिहीबार स्वदेश फर्कने क्रममा अध्यक्ष दाहालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा मुख्यतः उपचारकै काममा रहे पनि अमेरिकामा रहँदा उच्चस्तरीय राजनीतिक भेटसमेत भएको जानकारी दिए।

अमेरिकामा रहँदा दक्षिण तथा मध्यएशिया मामिलासम्बन्धी प्रमुख उपसहायकमन्त्री एलाइस जी वेल्ससँग भेट भएको जानकारी गराउँदै अध्यक्ष दाहालले त्यसअवसरमा द्विपक्षीय सबै विषयमा कुरा भएको बताए ।

यो अवसरमा दुई देशका आपसी सहयोगका विषय र नेपालको राजनीतक विषयमा कुरा भएको जानकारी गराउँदै उनले भने, “तिब्बतीयनका सम्बन्धमा नेपालले मानवाधिकारको विषयमा विगतदेखि गर्दै आएको काम गरोस् भन्ने उनको कुरा थियो । साथै उत्तर कोरियाका सम्बन्धमा पनि आफ्ना केही चासोमा नेपालले बुझिदिएहुन्थ्यो भन्ने उनको कुरा थियो ।”

भेटमा दुवै देशका बीचमा उच्चस्तरीय भेटघाट र संवाद धेरै वर्षदेखि नभएको भन्ने सम्बन्धमा छलफल भएको र आगामी दिनमा राजनीतिक तहमा भेटवार्ता हुनुपर्ने भन्ने विषयमा समझदारी भएको अध्यक्ष दाहालले बताए ।

सञ्चारकर्मीको जिज्ञासामा उनले इण्डो प्यासिफिक रणनीतिका सम्बन्धमा नेपालले धेरै चिन्ता लिनु नपर्ने र नेपाललाई अप्ठ्यारो पार्ने कुनै मनशाय नरहेको उपसहायकमन्त्री वेल्सको भनाइ रहेको उहाँले जानकारी दिए ।

अमेरिकाको मेरिल्याण्ड राज्यको अदालतमा अध्यक्ष दाहालविरुद्ध परेको उजुरी परेको सम्बन्धमा स्पष्ट पार्दै उनले भने, “राहदानी दिने बेलामा नै मेरो बारेमा कुनै अनुसन्धान नगर्ने कुरा भएको थियो, तसर्थ त्यहाँ त्यस्तो केही हुने वाला थिएन ।” अमेरिकामा रहेका केही नेपालीमा नकारात्मक विचार रहेको र देशको बदनामी गरेर खुशी हुने प्रवृत्ति देखिएको बताए । उनले भने, “यो नेपालका धेरै नेताहरुले अनुभव गरेको विषय हो ।”

भ्रमणका क्रममा त्यहाँ रहेका पार्टीका नेता कार्यकर्ता र अन्य विभिन्न विषयका विज्ञ नेपालीसँग अन्तर्क्रिया भएको जानकारी दिँदै अध्यक्ष दाहालले कार्यक्रम फलदायी भएको बताए । “त्यसपछि म्यारिल्याण्ड गयौँ, त्यहाँको प्रदेशसभा सांसदले स्वागत गर्नुका साथै ऐतिहासिकस्थल र संरचनाको अवलोकन गर्ने काम भयो । समग्रमा राम्रो सन्देश गएको छ”, उनले भने । उनले आफ्नो भ्रमणका क्रममा अमेरिकी सरकारको राम्रो सहयोग रहेको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्