गच्छदारले भने – सदनभन्दा शक्तिशाली सरकार हुन सक्दैन

काठमाडौं, चैत १० । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका उपनेता विजयकुमार गच्छदारले संसदको तेस्रो अधिवेशनले संख्यात्मक रुपमा धेरै कानुन निर्माण गरे पनि त्यसलाई सरकारको उपलब्धिका रुपमा व्याख्या गर्न नमिल्ने बताएका छन् ।

प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै उनले संविधान अनुरुप अहिले जुनसूकै सरकार भए पनि त्यो सरकारको जिम्मेवारीभित्र ती कानुन निर्माण हुनैपर्ने बाध्यात्मक अवस्था रहेको बताए । ‘सरकार जोसूकैको भए पनि अहिले यी विधेयक पारित गर्नै पर्दथ्यो,’ उनले भने, ‘कसैको विशेष भूमिकाका कारण विधेयक पारित भएको होइन ।’

विधेयक ल्याउनु सरकारको दायित्व भएको उनको भनाइ थियो । ‘संविधानको प्रतिकुल हुने विधेयक, ऐन संशोधन गर्नु बाध्यात्मक अवस्था हो,’ उनले भने, ‘यो सरकारकै कारण यतिधेरै विधेयक पारित भएको भन्ने होइन, सरकारले चमत्कारिक काम गरेको भनेर म यसमा मान्दिनँ ।’

उनले प्रधानमन्त्रीले प्रतिनिधिसभा प्रधानमन्त्री केपी शर्मा ओलीले भनेका सबै कुरा खण्डन गर्न जरुरी नभएको बताए । साथै उनले सबै कुरा समर्थन गर्न जरुरी पनि नरहेको प्रष्ट पारे ।

संसदमा धेरै प्रश्न उठे पनि सरकारले अहिलेसम्म जवाफ नदिएको उनले बताए । सदनभन्दा शक्तिशाली सरकार हुन नसक्ने उनले प्रष्ट पारे ।

‘शान्ति सुरक्षा एकदमै राम्रो भनेर सरकारले दावी गरे पनि शान्ति सुरक्षाको अवस्था घामजस्तै छर्लङ्ग छ,’ उनले भने, ‘निर्मला पन्तको हत्यारा अहिलेसम्म पक्राउ पर्दैन, यसबाट थाहा हुन्छ शान्ति सुरक्षाको अवस्था ।’

उनले प्रश्न गरे, ‘१३ महिनाको अवधिमा सरकारले कति हत्यारा, बलात्कारीलाई पक्राउ ग¥यो रु कति घटना भए, कति पक्राउ परे ? सरकारले किन भन्न सक्दैन र?’

प्रतिक्रिया दिनुहोस्