कांग्रेस जिल्ला सभापतिहरुको भेला चैत २० र २१ मा !

काठमाडौं, चैत ९ । नेपाली कांग्रेसका जिल्ला सभापतिहरुले राष्ट्रिय भेला पुनः बोलाएका छन्।

केन्द्रीय समितिको बैठकले महासमितिले अनुमोदन गरेको निर्णयलाई उल्टाइदिएपछि जिल्ला सभापतिको राष्ट्रिय भेला डाकिएको हो।

महासमितिमा गरिएको प्रतिबद्धता विपरित विधान पारित भएपछि जिल्ला सभापतिहरुले चैतको २० र २१ गते काठमाडौंमा भेला डाकेका हुन्।

जिल्ला सभापतिहरुको ककनी भेलाका सुझाबका साथै महासमितिमा गरिएको प्रतिबद्धतालाई केन्द्रीय समितिले लत्याएकाले जिल्ला सभापतिको भेला डाकिएको काठमाडौं जिल्ला सभापति सबुज बानियाँले बताए।

पदाधिकारीसहित केन्द्रीय सदस्यहरु स्वतः महाधिवेशन प्रतिनिधि बन्ने प्रावधानलाई विधानबाट हटाउनका लागि जिल्ला सभापतिहरुले आवाज उठाउँदै आएका थिए।

साथै, समानुपातिक प्रणालीका लागि राखिएको आरक्षण व्यवस्थामा एक व्यक्तिले एक पटकभन्दा बढी अवसर पाउन नहुने जिल्ला सभापतिहरुले प्रस्ताव गरेका थिए।

पुस ८ मा सकिएको महासमिति बैठकमा चार दर्जनभन्दा बढी जिल्ला सभापतिहरुले लिखित रुपमै उक्त प्रस्तावका लागि अभियान चलाएका थिए। जिल्ला सभापतिहरुको प्रस्तावलाई अधिकांश महासमिति प्रतिनिधिले समर्थन गरेका थिए।

जिल्ला सभापति र अन्य प्रतिनिधिहरुको प्रस्ताव अनुरुप केन्द्रीय समितिले विधान पारित गर्ने पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रतिबद्धता जनाएका थिए।

महासमिति बैठकमा गरिएको प्रतिबद्धता विपरीत केन्द्रीय समितिले फागुन १२ मा बहुमतको आधारमा पुरानै प्रावधान कायम राख्ने निर्णय गरेको थियो। पौडेल र कृष्ण प्रसाद सिटौला समूहका नेताले बैठकमा लिखित असहमति राखेका थिए।

पौडेल र सिटौला समूहको आड पाएका जिल्ला सभापतिहरुले राष्ट्रिय भेला बोलाउने निर्णय गरेका हुन्। राजधानीमा दर्जन जिल्ला सभापति भेला भई भेलाको आह्वान गरिएको बाँनियाले बताए।

तीन साताअघि ५६ जिल्ला सभापतिहरुले सामूहिक विज्ञप्ति निकालेर केन्द्रीय समितिको निर्णयको विरोध गरेका थिए।

जिल्ला सभापतिहरुको बैठकमा ७७ जिल्ला सभापतिहरु नै उपस्थित हुने बानियाँले दाबी गरे।

प्रतिक्रिया दिनुहोस्