भोलिदेखि एसईई परीक्षा सुरु हुँदै, परिक्षा दिनेमा छात्र भन्दा छात्रा बढी

काठमाडौँ, ९ चैत । विद्यार्थीहरुको आइरन गेटको रुपमा लिएको माध्यमिक शिक्षा परीक्षा (एसईई) आइतबारदेखि सुरु हुँदैछ । यस पटकको परिक्षामा मुलुकभरबाट ४ लाख ७५ हजार ३ परीक्षार्थी सहभागी हुँदै छन् । तीमध्ये २ लाख ३६ हजार ४ सय ४५ छात्र र २ लाख ३८ हजार ५ सय ५८ छात्रा छन् । यस पटक छात्रा परीक्षार्थी बढी देखिएका छन् । छात्राको संख्या २ हजार १ सय १३ ले बढी छ ।

शिक्षा पक्रकार सञ्जाल (इजोन) ले शुत्रबार गरेको अन्तरक्रियामा परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) का नियन्त्रक विष्णु अधिकारीले परीक्षा फाराम भरेकामध्ये छात्रा बढी रहेको जवानकारी दिएका हुन् ।

कुल परीक्षार्थीमा छात्रा बढी देखिए पनि प्रदेश २ मा भने कम छन् । प्रदेश २ बाट ७० हजार ५ सय ६८ परीक्षार्थीमध्ये छात्र ३७ हजार ४१ र छात्रा ३३ हजार ५ सय २७ छन् । जुन ४ हजार ५ सय १४ ले कम हो । विद्यालयमा छात्राको उपस्थिति कम रहेको पाइएपछि प्रदेश सरकारले ‘बेटी बचाऊ, बेटी पढाऊ’ अभियान सञ्चालन गरेको छ ।

परीक्षा नियन्त्रण कार्यालय अनुसार यस वर्ष देशभर १ हजार ९ सय ६९ परीक्षा केन्द्र तोकिएका छन् । परीक्षाका निम्ति केन्द्राध्यक्षलगायत ७२ हजार ६ सय ३१ जनशक्ति प्रत्यक्ष खटिने जनाइएको छ । साधारण, संस्कृत र प्राविधिक धारका गरी ९९ विषयको परीक्षा लिइने छ । यस पटकदेखि परीक्षा व्यवस्थापन प्रदेश सरकारले गर्दैछ ।
सो अन्तरक्रियामा शिक्षाविद्ले मनप्रसाद वाग्लेले भने कानुनी रूपमा एसईई परीक्षा वैध नभएको बताएका छन् । ‘शिक्षा ऐन आठौं संशोधनपछि परीक्षा नियन्त्रण कार्यालयलाई कानुनले चिन्दैन,’ उनले भने, ‘कक्षा १२ को परीक्षा संघ, कक्षा १० को प्रदेश र कक्षा ८ को स्थानीय तहले लिन्छ । ऐन कार्यान्वयन हुनुपर्छ र कक्षा १० को परीक्षाको औचित्य सावित हुनुपर्छ ।’

राष्ट्रिय निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (एनप्याब्सन) का अध्यक्ष ऋतुराज सापकोटाले विद्यालय तह संरचना परिवर्तन भएकाले कक्षा १० को परीक्षालाई तामझाम गर्न नहुने बताए । ‘कक्षा १० को एसईई परीक्षाको भ्रूणहत्या भएको छ,’ उनले भने, ‘किनभने ग्रेडिङ पद्धतिअनुसार मूल्यांकन हुन सकेको छैन । परीक्षा केन्द्रमा विद्यार्थीलाई ३ घण्टा लेखाएकै भरमा जाँच लिएर पूर्णांकलाई ग्रेडमा बदल्ने काम उल्टो हो ।’

प्याब्सनका सहअध्यक्ष डीके ढुंगानाले एसएलसी हटाएर एसईई बनाएपछिको उपलब्धिको मूल्यांकन हुन नसकेको बताए । ‘कक्षा १० को परीक्षालाई एसईई बनाएर कोही फेल भएको छैन तर ग्रेडिङ पद्धतिले विद्यार्थी ज्ञान केन्द्रित मात्र भए, संस्कार र गरिखाने शिक्षा दिन सकेनौं ।’
राष्ट्रिय अभिभावक महासंघका संयोजक सुप्रभात भण्डारीले एसईई परीक्षालाई मर्या्दित तुल्याउन बर्दीसहित प्रहरी खटाएर त्रसित बनाउन नहुने बताए । ‘ग्रेडिङ प्रणाली लागू भएपछि आत्महत्या गर्ने क्रम घट्यो, तर, फेल नहुने भएकाले विद्यार्थीले मिहिनेत गर्न छाडे,’ उनले भने  । यसलाई व्दिार्थी, अभिभावक र शिक्षकविच अन्तरक्रिया गर्न आवश्यक भएको उाले बताए ।

प्रतिक्रिया दिनुहोस्