एकता संयोजन समितिको बैठक कहिले ? नेताहरुको व्यस्तताले एकता प्रक्रिया प्रभावित
काठमाडौं । कम्युनिष्ट गठवन्धनका नेताहरुको व्यस्तता र विवादास्पद अभिव्यक्तिसँगै पार्टी एकता प्रक्रिया प्रभावित हुने देखिएको छ । निर्वाचन सम्पन्न भएको दुई साता बढी बितिसक्दा पनि संयोजन समितिको औपचारिक बैठक बस्न नसकेपछि एकता प्रक्रिया प्रभावित हुने देखिएको हो ।
पार्टी एकता र सरकार गठन प्रक्रियालाई सँगै लैजाने बताएपनि एकता संयोजन समितिको बैठक पटक–पटक स्थगित हुँदै आएको छ । यसअघि अस्ती शनिबार तथा हिजो बस्ने भनिएको बैठक समेत बस्न सकेन । बैठक बस्न नसकेपछि पार्टी एकताप्रक्रिया नै धरापमा पर्ने आशंका कतिपय नेता तथा कार्यकर्ता पङ्क्तिमै देखिएको छ ।
एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल सहित संयोजन समितिमा रहेका अधिकांश नेताको व्यस्तताका कारण बैठक प्रभावित भएको हो । यद्यपी दाहाल र ओलीबीच संयोजन समितिको बैठक भोलि बिहान राख्ने सहमति भएको बताइएको छ । सो बैठकमा सरकार गठनसँगै राष्ट्रियसभा निर्वाचन सम्बन्धी विधेयकका विषयमा समेत छलफल हुने गठबन्धनले जनाएको छ ।
पछिल्लो समय राष्ट्रिय राजनीतिक बाधक बनिरहेको राष्ट्रियसभा सदस्य निर्वाचन अध्यादेशमा पनि एमाले र माओवादी केन्द्रबीच फरक धार देखिएको छ । एमालेले बहुमतीय आधारमा अध्यादेश आउनुपर्ने अडान लिइरहँदा माओवादी केन्द्र भने काँग्रेस नेतृत्वको सरकारले ल्याएको एकल संक्रमणीय व्यवस्थामा केही लचक देखिएको छ ।
प्रतिक्रिया दिनुहोस्