गृहमन्त्री थापाले भने – सांसदहरुको मर्यादाक्रम पूर्व मन्त्रीभन्दा माथिनै हुन्छ
काठमाडौं, चैत ५ । गृहमन्त्री रामबहादुर थापाले संघीय संसदका सांसदहरुको मर्यादाक्रम पूर्व मन्त्रीभन्दा माथिनै रहने स्पष्ट पारेका छन् ।
गृहमन्त्री थापाले मन्त्रिपरिषद बैठकमा प्रदेश र स्थानीय तहलाई समेत समेटेर नयाँ मर्यादाक्रम निर्धारण गर्ने विषयमा छलफल जारी रहेको उल्लेख गर्दै संघीय संसदका सांसदहरुको मर्यादाक्रम पूर्व मन्त्रीभन्दा माथि नै रहने व्यवस्था गर्ने प्रष्टयाएका हुन् ।
मंगलबार संघीय संसदको राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा सदस्यहरुले पूर्व मन्त्रीहरुको मर्यादाक्रम सांसदहरुको भन्दा माथि राखिएको भन्ने समाचार आएको उल्लेख गर्दैै गृहमन्त्री थापालाई सो सम्बन्धमा स्पष्ट पार्न आग्रह गरेका थिए ।
त्यसको जवाफ दिनेक्रममा गृहमन्त्री थापाले जनप्रतिनिधिहरुको मर्यादा क्रमलाई माथिनै राख्ने राष्ट्रिय नीति रहेको उल्लेख गर्दै पूर्व मन्त्रीहरुभन्दा संघीय संसदका सांसदहरुको मर्यादा क्रम माथि नै रहने बताए ।
उनले नयाँ मर्यादाक्रम मन्त्रिपरिषद बैठकबाट पारित गरी छिट्टै राजपत्रमा प्रकाशित गर्ने सरकारको योजना रहेको पनि समितिलाई जानकारी गराए ।
गृहमन्त्री थापाले नयाँ मर्यादाक्रमका विषयमा सरोकारवाला निकायसँग आवश्यक छलफल भइरहेको पनि बताए ।
बैठकमा समितिका सदस्य प्रेम सुवाललगायतका सांसदहरुले सांसदहरुको मर्यादाक्रम पूर्व मन्त्रीको भन्दा पछाडि नराख्न सरकारको गम्भिर ध्यानाकर्षण गराएका थिए ।
त्यसैगरी समितिका अर्का सदस्य अमरेशकुमार सिंहले जथाभावी नागरिकता वितरण गर्ने कर्मचारीमाथि कडा कार्वाही गर्न पनि सरकारसँग माग गरेका थिए । प्रमाण नपुगी नागरिकता दिने काम गर्नेलाई सरकारले कार्वाही गर्नैपर्ने उनको भनाई थियो ।
प्रतिक्रिया दिनुहोस्