आफ्नो पार्टी सरकारमै बसेर काम गर्छ ‘ हट्ने सोच छैन– उपप्रधानमन्त्री यादव

काठमाडौं, चैत ३ । उपप्रधान एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले सरकारबाट तत्काल बाहिरिने सम्भावना नरहेको बताएका छन् ।

विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै पार्टीले वर्तमान सरकार छाड्ने सम्बन्धमा कुनै सोच नबनाएकाले आफ्नो पार्टी सरकारमै बसेर काम गर्ने उनले बताए ।

सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष समेत रहनुभएका उपप्रधानमन्त्री यादवले राष्ट्रिय जनता पार्टी नेपाल सङ्घीय सरकारमा नरहेकाले समर्थन फिर्ता लिनुको कुनै अर्थ नरहेको बताए ।

उनले तराईका जनताको चाहनाअनुसार नै राजपासँग मिलेर प्रदेश नं २ मा सरकार गठन गरेको बताउँदै शक्ति निर्माण गर्नका लागि आफ्नो पार्टीले राजपालाई पत्र लेखी पठाएकामा जवाफ नआएकाले त्यसलाई सकारात्मक रुपमा लिएको प्रष्ट पारे ।

उपप्रधानमन्त्री यादवले राज्यले विप्लव समूहको गतिविधिमाथि रोक लगाउनु आफ्नो कर्तव्य निभाएको हो, त्यो जुनसुकै सरकारले पनि गर्ने गर्छ भन्दै राजनीतिक गतिविधिको नाममा मान्छेको हत्या, लुटपाट र आङ्तक सिर्जना गरी जनतामा त्रासको वातावरण फैलाउन पाइँदैन भने ।

उपप्रधानमन्त्री यादवले सिके राउतसँग भएको सम्झौतामा कहीँ पनि जनमत सङ्ग्रह उल्लेख नभएको प्रष्ट पार्दै जनमत सङ्ग्रह र जनअभिमत फरक विषय रहेको समते बताए ।

उनले सिके राउतसँग भएको ११ बुँंदे सम्झौतामा मुलुकको सार्वभौमसत्ता र अखण्डता स्वीकार गराउनु सकारात्मक पहल भएको बताए ।

प्रतिक्रिया दिनुहोस्