प्रधानमन्त्री ओलीले भने- अब पृथकतावादी आन्दोलन समाप्त भयो
काठमाडौं, फागुन २६ । प्रधानमन्त्री केपी शर्मा ओलीले अब मुलुकमा पृथकतावादी आन्दोलन समाप्त भएको बताएका छन् । उनले सिके राउत मूल धारको राजनीतिमा आएसँगै मुलुकमा पृथकवादी आन्दोलन, समूह, संगठन केही पनि नरहेको पनि बताए ।
प्रधानमन्त्री ओलीले सिके राउत पृथकतावादी आन्दोलन छाडेर सरकारसँग आउनु ठूलो सफलता भएको पनि स्पष्ट पारे ।
सिके राउतले संविधान मानेर मूल धारको राजनीतिमा आउनुलाई केहीले शंकाले दृष्टिले हेरेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले असन्तुष्टि पनि व्यक्त गरे ।
‘पृथकतावादी आन्दोलन छाडेर मूल धारको राजनीतिमा आउनु र ल्याउन मुलुकको सुशासन र विकासलागि सफलता नभए के हो ? ’ प्रधानमन्त्री ओलीको प्रश्न थियो । प्रधानमन्त्री ओलीले सिके राउत मूल धारको राजनीतिमा आएकोमा शंका नगर्न पनि आग्रह गरे । शंका, षडयन्त्र र धोकामाथि आफ्नो विश्वास नै नरहेको प्रधानमन्त्री ओलीको भनाई छ ।
प्रधानमन्त्री ओलीले सिके राउत मूल धारको राजनीतिमा आउँदा केही मान्छे छटपटाएको उल्लेख गर्दैै त्यसलाई मान्छेसँग रिसाएको बिरालोले खाँबो चिथोरेको घटनासँग तुलना पनि गरे ।
उनले सरकारले मुलुकको समृद्धिका लागि आफ्नो अभियानलाई तीव्रताका साथ अघि बढाएको दावी पनि गरे ।
प्रतिक्रिया दिनुहोस्