प्रचण्डपछि तातोपानी कुन्डमा देउवा, पौडेलको डुबुल्की
काठमाडौं, फागुन २५ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहितका नेता शनिबार म्याग्दी आएका छन् ।
सदरमुकाम बेनीमा रहेको पार्टी कार्यालय भवन उद्घाटन तथा आमसभालाई सम्बोधन गर्न पूर्वप्रधानमन्त्रीसमेत रहेका देउवासहित कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र प्रवक्ता विश्वप्रकाश शर्मा यहाँ आएका हुन् ।
हेलिकोप्टरमार्फत् बेनी–४ मा रहेको प्राकृतिक चिकित्सालयकारुपमा परिचित सिंगा तातोपानी कुन्डमा पुगेका सभापति देउवासहितको टोलीले तातोपानी कुन्डको अवलोकन भ्रमण गरेका छन् ।
नेताहरुले कुन्डको अवलोकनसँगै स्नानसमेत गरेका छन् ।
उच्चपदस्थ व्यक्तिको तातोपानी क्षेत्रको भ्रमणले यस क्षेत्रको प्रचार–प्रसारमा सघाउ पुर्याएको कुन्ड व्यवस्थापन समितिका सहसचिव कुमार केसीले बताए ।
तातोपानीमा नेताहरुलाई कुन्ड व्यवस्थापन समितिका अध्यक्ष वीरेन्द्रमान शाक्यले कुन्डको अवस्था र महत्वकाबारेमा जानकारी गराएका थिए ।
उनीहरुलाई कुन्ड व्यवस्थापन समिति र स्थानीयवासीले स्वागतसमेत गरेका थिए ।
उद्घाटन गरिने भवन संगमचोकमा रु ५१ लाख ३७ हजार ७५० मा जग्गा खरिद गरी रु २९ लाख ५९ हजार ४२५ लगानीमा निर्माण गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस्