विशेष महाधिवेशन बोलाएर देखाउन देउवाको चुनौती
काठमाडौं, फागुन २३ ।विशेष महाधिवेशन बोलाएर देखाउन सभापति देउवाले चुनौती दिएका छन् । नेपाली कांग्रेसभित्रको राजनीति एकपछि अर्को गर्दै किचोलिँदै गएको छ ।
यसका कारण पार्टीका सभापति शेरबहादुर देउवा आक्रोशित देखिएका छन् ।
उनले पार्टीका ५६ जिल्ला सभापतिलाई विशेष केन्द्रीय महाधिवेशन बोलाएर देखाउन चुनौती नै दिएका छन् ।
बिहीबार विराटनगरमा सन्चारकर्मीहरुसित सभापति देउवाले केन्द्रीय कार्यसमितिले गरेको निर्णय उल्टाएर देखाउन चुनौती दिएका हुन् ।
५६ जिल्ला सभापतिले मंगलबार विज्ञप्ति निकालेर महासमितिको भावनाविपरीत केन्द्रीय समितिले केन्द्रीय सदस्यहरुलाई स्वतः प्रतिनिधि बन्न पाउने प्रावधान राखेको भन्दै उक्त व्यवस्था संशोधन नगरे विशेष महाधिवेशन बोलाउन हस्ताक्षर गर्ने चेतावनी दिएका थिए ।
उनीहरूले समानुपातिक तथा समावेशी कोटामा दोहोर्याउन नपाउने व्यवस्थासमेत विधानमा राख्नुपर्ने माग गरेका छन् ।
सभापति देउवाले भने पार्टीका जिल्ला सभापतिहरूको कतिपय विषयमा असहमति हुनसक्ने भन्दै आफूले थप बुझ्ने पनि बताए ।
०७५ पुस २९ देखि ९ गतेसम्म काठमाडौंमा सम्पन्न कांग्रेस महासमिति बैठकमा अधिकांश सदस्यले विधानमा उल्लिखित स्वतः प्रतिनिधिको व्यवस्था हटाउन र समानुपातिक तथा आरक्षण कोटाबाट एकै व्यक्तिलाई दोहोर्याएर अवसर नदिन गरेको मागमा सभापतिसहितका नेताले सम्बोधन गर्ने बचन दिएका थिए ।
तर, केन्द्रीय समितिको बैठकले महासमितिको आदेश लत्याएर विधान पारित गरेपछि अहिले कांग्रेसमा यो विषयमा रडाको मच्चिएको छ ।
महासमिति बैठकमा उक्त विषय उठेपनि निर्णय नभएको तर्क देउवा पक्षको छ भने नेता रामचन्द्र पौडेल र कृष्ण सिटौला पक्षले बहुमतको बलमा संस्थापनले बलमिच्याइँ गरेको आरोप लगाउँदै आएका छन् ।
५६ जिल्ला सभापतिले विज्ञप्ति निकालेपछि पौडेल र सिटौला पक्षधरका नेताको बुधबारमात्र पूर्वमहामन्त्री प्रकाशमान सिंहको चाक्सीबारीस्थित निवासमा बैठक बसी रणनीति तय गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्