महासचिव पौडेलले भने -नेपाललाई ईयूको कालोसूचीबाट हटाएरै छाड्छौँ !
काठमाडौँ , फागुन १७ । नेपाल कम्युनिष्ट पार्टी नेकपाका महासचिव विष्णु पौडेलले नेपाललाई यूरोपियन यूनियन (ईयू)को कालोसूचीबाट हटाएरै छाड्ने प्रतिबद्धता जनाएका छन् ।
शुक्रबार टुडिँखेलमा मन्त्री अधिकारीसहित हेलिकोप्टर दुर्घटनामा ज्यान गुमाएका सातै जनाप्रति अन्तिम श्रद्धाञ्जली व्यक्त गर्दै महासचिव पौडेलले ईयूको कालोसूचीबाट नेपाललाई हटाइने बताएका हुन् ।
मन्त्री अधिकारी नेपाली आकाश पहिलेको तुलनामा सुरक्षित बन्दै गएको भन्दै बिहीबार जर्मनी भ्रमणका क्रममा ईयूका अधिकारीसँग छलफल गर्ने कार्यक्रम थियो । तर बुधबार ताप्लेजुङमा हेलिकोप्टर दुर्घटनामा परेर मन्त्री अधिकारीको नै ज्यान गएपछि ईयूको कालोसूचीबाट नेपाललाई हटाउने प्रयास थप जटिल बनेको छ ।
‘नेपाललाई ईयूको कालोसूचीबाट हटाए मन्त्री अधिकारीप्रति सच्चा श्रद्धाञ्जली हुन्छ’ उनले भने, उनले थालेको सार्थक प्रयासलाई हामी निरन्तरता दिन्छौँ । जतिसक्दो छिटो ईयूको कालोसूचीबाट नेपाललाई हटाउने प्रयास गर्छौ ।’
नेपालमा घरेलु र अन्तरराष्ट्रिय गरी ठूल्ठूला हवाइजहाज दुर्घटना भएपछि ईयूले सन् २०१३ मा नेपाली हवाइजहाजलाई युरोपको आकाशमा उड्न प्रतिबन्ध लगाएको थियो । त्यसयता पटक पटक आग्रह गर्दा पनि ईयूले नेपाललाई आफ्नो कालोसूचीबाट हटाएको छैन ।
महासचिव पौडेलले मन्त्री अधिकारीले नेपाली पर्यटन र उडड्यन क्षेत्रमा थालेका सबै प्रयासका विषयमा समीक्षा गरेर त्यसलाई निरन्तरता दिने बताए।
यसका लागि अब बस्ने पार्टीको बैठकमा छलफल हुने पनि उनको भनाइ थियो।
प्रतिक्रिया दिनुहोस्