प्रदेशसभातर्फ समानुपातिकको सिट बाँडफाँट, कसले–कति पाए सिट ?

काठमाडौं । निर्वाचन आयोगले प्रदेशसभाको समानुपातिकतर्फको मतपरिणाम र दलहरुले पाएको सिट संख्या सार्वजनिक गरेको छ ।

शुक्रबार बसेको निर्वाचन आयोगको बैठकले सिट संख्या बाँडफाँटको अन्तिम टुंगो लगाएको हो ।

‘सेन्टलक’ विधिअनुसार प्रदेशसभाका २२० समानुपातिक सिटमध्ये नेकपा एमालेले सबैभन्दा बढी ७५ सिट पाएको छ भने नेपाली कांग्रेसले ७२ सिट पाएको छ ।

यस्तै, माओवादी केन्द्रले ३५, संघीय समाजवादी फोरम नेपालले १३, राष्ट्रिय जनता पार्टी ९राजपा० नेपालले १२, राप्रपाले ३, विवेकशील साझा पार्टीले ३, राष्ट्रिय जनमोर्चाले २, नयाँ शक्ति पार्टीले एक, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले एक, नेपाल मजदुर किसान पार्टीले एक र राप्रपा प्रजातान्त्रिकले एक सिट पाएका छन् ।

परिणामअनुसार प्रदेश नम्बर–१ मा एमाले १५, कांग्रेसले १३ र माओवादी केन्द्रले ५ सिट पाएका छन् ।

यस्तै, प्रदेश–२ मा कांग्रेसले ११, राजपाले १०, संघीय समाजवादी फोरमले ९, एमालेले ७ र माओवादी केन्द्रले ५ सिट पाएका छन् ।

प्रदेश–३ मा एमालेले १६, कांग्रेसले १४ र माओवादी केन्द्रले ८ सिट पाउँदा विवेकशील साझाले ३ सिट पाएको ।

४ नम्बर प्रदेशमा एमालेले १०, कांग्रेसले ९ माओवादी केन्द्रले ३ सिट पाएका छन् भने ५ नम्बर प्रदेशमा एमालेले १३, कांग्रेसले १२ र माओवादी केन्द्रले ६ सिट पाएका छन् ।

६ नम्बर प्रदेशमा एमालेले ६, कांग्रेसले ५ र माओवादी केन्द्रको भागमा ४ सिट परेको छ भने ७ नम्बर प्रदेशमा एमालेले ८, कांग्रेसले ८ र माओवादी केन्द्रले ४ सिट प्राप्त गरेको छ ।

आयोगले शुक्रबार सार्वजनिक गरेको सिटअनुसार राजनीतिक दललाई यसअघि बुझाइको बन्दसूचीभित्रैबाट ‘कलस्टर’ मिलाएर बढीमा एक हप्ताभित्र नाम पठाइसक्न राजनीतिक दलहरुलाई पत्र पठाउन सुरु गरेको आयोगका सचिव बेगेन्द्रराज शर्माले जानकारी दिए ।

सेन्टलक प्रणालीमार्फत् मतपरिणाम भाग लगाउँदा कतिपय स्थानमा १।५ प्रतिशतको ‘थ्रेसहोल्ड’ कटाउँदासमेत राजनीतिक दलहरुले सिट पाएनन् भने सबै प्रदेशमा गरेर पाँच लाखभन्दा बढी मत प्रयोगमा आएन ।

प्रतिक्रिया दिनुहोस्