पौडेल र सिटौला समूहले ग¥यो काँग्रेस बैठक बहिस्कार

काठमाडौं, फागुन १४ । नेपाली काँग्रेसको जारी केन्द्रीय समिति बैठक नेता रामचन्द्र पौडेल र कृष्ण प्रसाद सिटौला समूहले बहिस्कार गरेको छ ।

मंगलबार केन्द्रीय कार्यालय सानेपामा बोलाइएको केन्द्रीय समिति बैठकमा पौडेल र सिटौला समूहका नेताहरुले सर्वसम्मत पार्टीका निर्णयहरु गरिनुपर्ने माग गरेको भएपनि त्यसको सुनुवाई नहुने देखिएपछि बहिस्कार गरेको बताइएको छ ।

काँग्रेस केन्द्रीय सदस्य अर्जुन नरसिंह केसीले आफूहरुले बैठकमा सर्वसम्मत रुपमा पार्टीको अनुशासन समिति गठन गरिनुपर्ने माग अघि सारेको तर सभापतिले त्यसमा सुनुवाई नगर्ने देखिएपछि बैठकस्थलबाट बाहिरिएको जानकारी दिए ।

पार्टीका एक नेताका अनुसार बैठक बहिस्कार गर्नेमा पौडेल, सिटौला र केसीसहित नेताहरु प्रकाशमान सिंह, प्रदीप पौडेल, रामशरण महत लगायतका पौडेल र सिटौलापक्षीय नेताहरु रहेका छन् ।

उनीहरुले बहुमतको आधारमा निर्णय गरेर पार्टी बन्न नसक्ने भन्दै सहमतिको आधारमा अनुशासन समिति लगायतका अन्य निर्णयहरु गरिनुपर्ने माग गरेका छन् ।

नेताहरुको वहिस्कारपछि बैठक स्थगित गरिएको छ ।
यसअघि पदाधिकारी र वरिष्ठ नेताको फरक मतलाई बेवास्ता गर्दै काँग्रेसले बहुमतबाट संघीय विधान परिमार्जनसहित पारित गरेको थियो ।

काँग्रेस नेता प्रदीप पौडेलले पार्टीका पछिल्ला निर्णयले सभापति शेरबहादुर देउवाको प्रतिबद्धतामाथि विश्वास गर्न नसकिने अवस्था आएको बताए ।

गत पुसमा सम्पन्न महासमिति बैठकमा सभापति शेरबहादुर देउवा र रामचन्द्र पौडेलले महासमिति सदस्य र जिल्ला सभापतिहरूको मागबमोजिम महाधिवेशन प्रतिनिधि हुन तलैबाट चुनाव जितेर आउनुपर्ने र एक व्यक्ति एक पटक मात्रै आरक्षण कोटामा पर्नुपर्ने विषय विधानमा समेट्ने प्रतिबद्धता जनाएका थिए ।

तर, सो प्रतिबद्धताविपरीत आइतबार बसेको केन्द्रीय समिति बैठकले बहुमतका आधारमा पुरानै व्यवस्था कायम गर्दैै विधान पारित गरेपछि काँग्रेसभित्रको आन्तरिक विवाद महाधिवेशन नजिकिँदै गर्दा थप पेचिलो बनेको छ ।

नेता पौडेलले विधानमा असहमति रहेका विषयलाई देशव्यापी रूपमा बहसका रूपमा लैजाने बताए ।

सिटौला, केसी, बलबहादुर केसी, रामशरण महत, नवीन्द्रराज जोशी, प्रदीप पौडेल, गगन थापा, धनराज गुरुङलगायतले विवाद समाधान नगरी बहुमतबाट विधान पारित गरेकोमा आइतबारको बैठकमा फरक मत राखेका थिए ।

महासमिति बैठकको भावनाविपरीत केन्द्रीय समितिले बहुमतबाट विधान पारित गरेको उनीहरूको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्