उपभोक्ताको ढाड सेकेर कर्मचारीलाई यसरी पोस्दैछ आयल निगम !

काठमाडौंँ, फागुन १३ । नेपाल आयल निगमले उपभोक्ताको ढाड सेकेर कर्मचारीलाई पोसिरहेको छ ।

निम्नवर्गीय नेपालीले प्रयोग गर्ने मट्टीतेलमा प्रतिलिटिर २८ रुपैयाँसम्म नाफा खाएर निगमले कर्मचारीलाई दैनिक लुगा धुने साबुनसम्मको भत्ता बाँडिरहेको छ।

निगमका कर्मचारीले इन्धन खर्च शीर्षकमा मासिक चार हजार पाँच सय, घरखर्चका लागि एक हजार, लुगा धुन दैनिक १५ रुपैयाँ बुझ्छन् । दैनिक खाजा खर्च एक सय रुपैयाँ पाउँछन् ।

विदेश भ्रमणका नाममा भारत जाँदा पाँच हजार र अन्य मुलुक जाँदा सात हजार लुगाभत्ता बुझ्छन् । बिमा, चाडबाड र उपचार खर्चको पनि छुट्टै व्यवस्था छ।

१५ दिनअगाडिसम्म निगमले प्रतिदिन करिब आठ करोडसम्म नाफा कमाइरहेको थियो । यो अनुपात कायमै छ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य ओरालो लागे पनि पुरानो घाटा पूर्ति गर्ने भन्दै निगमले मूल्य समायोजन गरेको छैन ।

सार्वजनिक संस्थानमध्ये सबैभन्दा आकर्षक तलबभत्ता निगमकै कर्मचारीले बुझ्छन् । निजामती कर्मचारीको तुलनामा उनीहरूको सुविधा कम्तीमा तेब्बर बढी छ । पछिल्ला चार वर्षमा निगमको प्रशासनिक खर्च ९४ प्रतिशले वृद्धि भएको छ । आन्तरिक लेखापरीक्षण प्रतिवेदनअनुसार आव ०७०–७१ मा ५० करोड ७० लाख रहेको खर्च ०७४–७५ मा ९८ करोड ३६ लाख पुगेको छ।

लुगा धुने साबुनसमेत भत्ता पाइरहेका कर्मचारीले मागे थप सुविधा
आयल निगमका कर्मचारीले अहिले पाइरहेको तलब–भत्ता अपुग भएको भन्दै थप सुविधा माग गरेका छन् ।

२६ पुसमा ४९औँ वार्षिक साधारणसभामा आधिकारिक टे«ड युनियनका तर्फबाट धारणा राख्दै निगमका कर्मचारी गोपालचन्द्र राईले मासिक २ हजार महँगी भत्ता थप्नुपर्ने बताए । ‘निजामती कर्मचारीले पाइरहेको मासिक २ हजार भत्ता निगममा पनि लागू गर्न सञ्चालक समितिले निर्णय गरिदिनुपर्छ,’ उनले भनेका थिए । केही समयअघि निगम व्यवस्थापनले सञ्चालक समितिसमक्ष यातायात खर्चबापत मासिक ४५ सय थप सुविधा दिनुपर्ने प्रस्तावसमेत लगेको थियो।

निगमका प्रवक्ता वीरेन्द्र गोइत भन्छन्– बढी सुविधा छैन
निगमका अधिकांश कर्मचारीलाई प्याङ्क्रियाज, मिर्गौला फेल, मस्तिष्कघातलगायत ठूला रोग लागेको छ । चिकित्सकहरूका अनुसार यी सबै रोग पेट्रोलियम पदार्थका कारण लागेको भन्ने छ । ज्यानै माया मारेर काम गर्ने कर्मचारीलाई अहिले दिएको सुविधा बढी होइन ।

कर्मचारीलाई बोनस बाँड्न साढे तीन अर्ब संकलन
कर्मचारीलाई बोनस बाँड्न मात्र ३ अर्ब ६२ करोड निगममा छुट्याएर राखिएको छ । आर्थिक वर्ष ०६५–६६ मा निगमले ३ अर्ब ३१ करोड नाफा आर्जन गरेको थियो । त्यसवेला उसले १९ करोड ८८ लाख बोनसका लागि छुट्याएको थियो ।

०७१–७२ देखि भने निगम निरन्तर नाफामा छ । अहिलेसम्म एक खर्बभन्दा बढी नाफा आर्जन गरेको निगमले बोनसका लागि मोटो रकम छुट्याएर राखे पनि वितरणमा रोक लगाइएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग, संसदीय समिति र तत्कालीन वाणिज्य तथा आपूर्ति मन्त्रालयले निगमलाई सबै नोक्सानी पूर्ति गरेपछि मात्र बोनस वितरणका लागि सहमति दिने बताएको थियो ।

आर्थिक वर्ष ०७–७२ र ०७२–७३ मा मात्र २ अर्ब २६ करोड बोनस बाँड्न निगम व्यवस्थापनले माग गरे पनि संसद्को तत्कालीन उद्योग, वाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समितिले रोक लगाएको थियो । बोनसका लागि संकलित रकम कहिले बाँडिन्छ टुंगो छैन ।

कर्मचारीको सुविधामै ५० करोड खर्च
निगमले कर्मचारीका लागि गत आर्थिक वर्ष ०७४–७५ मा मात्रै करिब ५० करोड खर्च गरेको छ । आन्तरिक लेखापरीक्षण प्रतिवेदनअनुसार गत वर्ष तलब, ज्याला र अन्य खर्च शीर्षकमा ३६ करोड ७५ लाख १२ हजार ७९९ खर्च भएको छ ।

त्यस्तै, कर्मचारीको औषधि–उपचार खर्च शीर्षकमा ११ करोड ६५ लाख ७५ हजार १५८ खर्च गरेको छ । निगमका प्रवक्ता वीरेन्द्र्र गोइतले भने पेट्रोलियम पदार्थको जोखिममा रहेर काम गर्ने कर्मचारीलाई यो सुविधा बढी नभएको दाबी गरे ।

प्रतिक्रिया दिनुहोस्