विप्लव समूहसँग वार्ता गर्न उपसभापति गच्छदारको माग

काठमाडौं, फागुन ११ । विप्लव समूहसँग वार्ता गर्न उपसभापति गच्छदारको माग गरेका छन् ।नेपाली काङ्ग्रेसका उपसभापति विजयकुमार गच्छदारले मुलुकमा हिंसाका गतिविधि सञ्चालन गर्ने पक्षसँग सरकारले अविलम्ब वार्ता गर्नुपर्ने बताएका छन्।

विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उनले गोलीबाट समस्या समाधान नहुने भएकाले हिंसात्मक गतिविधि सञ्चालन गर्दै आएको नेपाल कम्युनिस्ट पार्टी(विप्लव) सँग वार्ता गर्नुपर्नेमा जोड दिए।

विगतका घटनाबाट पाठ सिक्नुपर्नेमा जोड दिँदै उपसभापति गच्छदारले सम्बद्ध पक्षसँग वार्ता गरी समस्या समाधान गर्नका लागि सरकारलाई प्रतिपक्षको सहयोग रहने बताए।

उनले वर्तमान दुई तिहाइ बहुमतको सरकारले जनताको पक्षमा काम गर्न नसकेको र जनताले परिवर्तनको महसुस गर्न नपाएको आरोप पनि लगाए।

मुलुकमा राजनीतिक परिवर्तन ल्याउन प्रतिपक्षलगायत अन्य राजनीतिक दलको ठूलो योगदान रहेको भन्दै उपसभापति गच्छदारले बहुमतको सरकारले मात्र सङ्घीयताको सफल कार्यान्वयन गर्न नसक्ने जिकिर गरे।

एक प्रश्नको जवाफमा नेपाली काङ्ग्रेसले संविधानमा धर्मनिरपेक्षता स्वीकारिसकेको अवस्थामा हिन्दु राष्ट्र कायम हुनुपर्छ भन्ने धारणा नेपाली काङ्ग्रेसको आधारिक धारणा नभएको नभएको जानकारी दिँदै उनले सबै नेपाली जनताको स्वीकार्य संविधान बनाउनका लागि संविधान संशोधन आवश्यक रहेकोमा जोड दिए।

प्रतिक्रिया दिनुहोस्