सूचना प्रविधि विधेयकमा कांग्रेस सांसदको चर्को विरोध
काठमाडौं, फागुन १० । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकार विरोधी आवाजलाई दबाउने नियतका साथ सूचना प्रविधिसम्बन्धी विधेयक ल्याईएको भन्दै चर्को विरोध गरेका छन् ।
प्रतिनिधिसभाको शुक्रबारको बैठकमा विधेयकमाथिको सैद्धान्तिक छलफलमा सहभागी हुदै प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदहरुले सरकारले गलत मनसायका साथ विरोधीलाई अंकुश लगाउने अभिप्रायसाथ विधेयक ल्याएको भन्दै विरोध गरेका हुन् ।
सांसद गगन थापाले सरकारविरोधी आवाजलाई नियन्त्रण गर्ने मनसायका साथ विधेयक ल्याईएको टिप्पणी गरे ।
उनले तत्कालिन राजा ज्ञानेन्द्रले आलोचनाबाट बच्न फोन बन्द गरेको प्रसङ्ग स्मरण गराउँदै अभिव्यक्ति स्वतन्त्रतालाई अंकुश लगाउने प्रयास नगर्न सरकारलाई चेतावनी दिए । उनले भने, “यो सदनमा छलफल गरेर मात्रै सच्चिन सक्ने प्रस्तावित ऐन छैन । जनताको संघर्षबाट मात्रै यो सच्चिन्छ । कुनै बेला आलोचना गर्ने मुख बन्द गर्न राजा ज्ञानेन्द्रले फोन काटेको सम्झन्छु । तर फोन काट्दै गर्दा न फोन बन्द भयो, न आलोचना गर्ने मुख बन्द भयो । सरकाररलाई म केबल त्यो स्मरण मात्र गराउन चाहन्छु । ”
उनले होच्यायो भनेर नागरिकले अधिकार माग्दै गर्दा संविधानले प्रत्याभुत गरेको अभिव्यक्ति स्वतन्त्रताको अधिकार हनन हुने तर्फ सरकार गम्भीर नभएको टिप्पणी गरे ।
यस्तै सांसद डिला संग्रौला पन्तले प्रेस र अभिव्यक्ति स्वतन्त्रता विरुद्ध सूचना र सञ्चार माथि अंकुश लगाउने दुष्प्रयासका साथ विधेयक ल्याईएको टिप्पणी गरिन् । विधेयक अधिनायवाद र सर्वसत्तावादको संकेत भएको भन्दै संशोधनको माग गरिन् ।
सांसद पुष्पा भुसाल गौतमले समाजिक सञ्जाललाई दर्ता गर्ने नभई अभिलेखीकरण र व्यवस्थित गर्नुपर्ने धारणा राखिन् । उनले विधेयकमा गरिएको कारवाहीको व्यवस्था सूचनाको हकको अधिकार विपरित भएकाले संशोधन गर्नुपर्ने माग गरिन् ।
सत्तारुण्ढ दलका सांसदहरुले भने विधेयकको समर्थन गर्दे सरकारको बचाउ गरेका थिए ।
प्रतिनिधिसभाको अर्को बैठक आगामी मंगलबार ११ बजेका लागि बोलाइएको छ ।
प्रतिक्रिया दिनुहोस्