नेकपा एकता सम्बन्धी विवाद विषय अझै टुंगो लागेन
जागरण न्युज
काठमाडौं, ९ फाल्गुन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को पार्टी एकता सम्बन्धी विवादको विषय अझै टुंगोमा पुगेको छैन ।
कार्यदलले सांगठनिक एकीकरणको प्रस्ताव तयार पार्न ढिलाइ गरेपछि एकता सम्बन्धी विषयहरू सल्टिन नसकेको हो ।
बिहिबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको पार्टीको सचिवालय बैठकमा कार्यदलका संयोजक राम बहादुर थापा ‘बादल’ले अहिलेसम्म कार्यदलले गरेको कामको प्रतिवेदन बुझाउँदै सम्पूर्ण कार्य सम्पन्न गर्नका लागि एक साता समय थप गर्न प्रस्ताव गरेका थिए ।
बैठकमा संयोजक थापासहित कार्यदलका सबै सदस्यले बाँकी काम सम्पन्न गर्नका लागि केही समय आवश्यक पर्ने भन्दै एक साता समय थप्न सचिवालयसँग माग गरेको कार्यदल सदस्य योगेश भट्टराईले जानकारी दिए ।
पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले बैठकमा कार्यदलको प्रतिवेदनसँगै सबै सदस्यहरूबीच छलफल भए पनि कार्यदललाई म्याद थप गर्ने निर्णय भइ नसककेकाले भोलि पुनः बैठक बस्ने जानकारी दिए ।
गृहमन्त्री समेत रहेका थापा संयोजकत्वको कार्यदलमा महासचिव विष्णु पौडेल, स्थायी समिति सदस्यहरू शंकर पोखरेल, सुरेन्द्र पाण्डे, वर्षमान पुन, लेखराज भट्ट, योगेश भट्टराई, बेदुराम भुसाल, रघुवीर महासेठ सदस्य छन् ।
प्रतिक्रिया दिनुहोस्