नयाँ सरकार गठनपछि मात्र अध्यादेश पारितः एमाले अध्यक्ष ओली
काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकारले पेस गरेको राष्ट्रियसभा निर्वाचन सम्बन्धी अध्यादेश असंवैधानिक भएको आरोप लगाउँदै नयाँ सरकारले नयाँ अध्यादेश ल्याउने बताएका छन् ।
निर्वाचन आयोगसँग सहमति लिएर समितिमा व्यापक छलफल भइसकेको विधेयक लत्याउँदै सरकारले संसद्को आयु सकिएपछि अध्यादेश ल्याएको उनले आरोप लगाए । उनले भने ‘निर्वाचन आयोगसँग छलफल सकी समितिमा पनि छलफल भएको र संशोधनसमेत हालिसकेको अवस्था थियो, त्यसलाई रोकेर अध्यादेशबाट लैजाने काम भयो,’ ओलीले भने, ‘कसैलाई पनि नसोधी एकलौटी सच्याएर ल्याउनुभयो, हामीलाई थाहा छैन ।’ उक्त अध्यादेश स्वीकृत गर्न राष्ट्रपतिलाई बाध्यकारी नहुने उनको तर्क गरे ।
सरकारका प्रवक्ता सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतको तर्कको पनि ओलीले प्रतिवाद गरे । बस्नेतले मंगलबार पत्रकार सम्मेलन गरी सरकारको नेतृत्व हस्तान्तरण गर्न संवैधानिक र कानूनी जटिलता रहेको कुरा प्रति इंकित गर्दै चुनावमा पराजित भई तेस्रो पार्टीले शासन चलाउँछ भन्ने कुरा हाँस्यास्पद भएको बताए ।
प्रतिक्रिया दिनुहोस्