पार्टी एकिकरणमा शंका नगर्न एमाले अध्यक्ष ओलीको आग्रह, एकिकरणपछि नयाँ पाटी बन्ने

काठमाडौं । एमालेका अध्यक्ष केपी ओलीले पार्र्टी एकीकरणमा आशंका नगर्न आग्रह गरेका छन् । उनले एकिकरणपछि नयाँ पार्टी बन्ने समेत बताएका छन् ।
बुधबार काठमाडौंबाट प्रतिनिधिसभा र प्रदेशसभामा विजयी उम्मेदवारलाई बधाई दिने कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले पार्टी एकीकरणमा आशंका नगर्न आग्रह गरेका हुन् । उनले भने ‘पार्टी एकता हुन्छ कि हुन्न भनेर धेरैले सोचिरहनु भएको होला, ढुक्क रहनुहोस्, पार्र्टी एकता हुन्छ,’ ओलीले भने, ‘सरकार पनि बनाउँदै जान्छौं, एकीकरण पनि गर्दै जान्छौं, अब यो प्रक्रिया रोकिन्न ।’ एकीकरणको उद्देश्यसहित गठबन्धन बनाएर निर्वाचनमा गएका कारण जनताले भरोसाका साथ उल्लेख्य मत दिएको बताउँदै उनले जनमतको सम्मान गर्नका लागि पार्र्टी एकीकरण गरिने स्पष्ट पारे । ‘दुवै पार्र्टीलाई एकीकरण र समृद्धिका लागि जनताले मत दिएका छन्, उनले भने जनताको यो आकांक्षा पूरा गरेनौं भने, उनीहरुको विश्वासमा धोका दियौं भने यस्तो मौका कयौं वर्षसम्म आउँदैन,’ ओलीले भने, ‘यो जनमतलाई दुवै पार्टीले सम्मान गर्नेछन् । एकीकरण निकट भविष्यमा नै हुनेछ, आआफ्नो ठाउँबाट तपाईंहरु लाग्नुहोस् ।’
ओलीले एमाले र माओवादी एकअर्कामा विलय भई तेस्रो प्रकारको पार्टी बन्ने बताए । ‘एकीकरणपछि माओवादीले एमाले निल्छ, एमालेले माओवादी निल्छ अनि त्यसपछि तेस्रो प्रकारको पार्टी बन्छ,’ ओलीले भने, ‘त्यसपछि पहिलाको जस्तो एमाले र माओवादी खोजेर पाउनुहुन्न, नयाँ प्रकारको पार्टी बन्छ ।’
दुई पार्टीबीचको एकीकरण प्रक्रिया भाँड्न केही शक्ति लागेको आरोप लगाउँदै ओलीले एकीकरण अरुका निम्ति अचानकजस्तो देखिएपनि दुई पार्टीका निम्ति भने सुनियोजित भएको दाबी गरे ।

 

प्रतिक्रिया दिनुहोस्