राजपाले प्रदेश सरकार, स्थानीय सरकार र जिल्ला अध्यक्ष मण्डलसँग छलफल गर्दै, एजेण्डा यस्ता छन्

काठमाडौं, फागुन ४ । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले प्रदेश २ को प्रदेश सरकार, स्थानीय सरकार र जिल्ला अध्यक्ष मण्डलको बैठक गर्ने निर्णय गरेको छ ।

पार्टीले गत माघ २९ गतेदेखि फागुन २ गतेसम्म बसेको अध्यक्ष मण्डलको बैठकले महाधिवेशन अगाडि विभिन्न प्रदेशमा बैठक गर्ने निर्णय गरेको हो । यही फागुन १० गतेदेखि १३ गतेसम्म जनकपुरमा प्रदेश २ को प्रदेश सरकार, स्थानीय सरकार र जिल्ला अध्यक्ष मण्डलको बैठक गर्ने निर्णय भएको सहमासचिव जेपी यादवले जानकारी दिए ।

यस्तै फागुन १४ गते प्रदेश १ को विराटनगरमा झापा, सुनसरी, मोरङ र उदयपुरमा अध्यक्ष मण्डल, केन्द्रीय पदाधिकारी र केन्द्रीय सदस्यहरुको बैठक गर्ने निर्णय अध्यक्ष मण्डलको बैठकले गरेको छ ।

यसैगरी फागुन १६ गते भैरहवामा नवलपरासी, रुपन्देही, कपिलवस्तुका अध्यक्ष मण्डल, केन्द्रीय पदाधिकारी, केन्द्रीय सदस्य र विधायकहरुको बैठक बस्ने पार्टीले विज्ञप्ति मार्फत जनाएको छ ।

फागुन १७ गते नेपालगञ्जमा बाँके, बर्दिया, कैलाली, कञ्चनपुर र दाङको जिल्ला अध्यक्ष मण्डल, केन्द्रीय पदाधिकारी, केन्द्रीय सदस्य र विधायकहरुको बैठक बस्ने जनाएको छ ।

यस्तै फागुन २२ देखि २५ गतेसम्म काठमाडौंमा मधेशी, आदिवासी जनजाती वुद्धिजीविसँग अन्तरक्रिया गर्ने राजपाले जनाएको छ ।

महाधिवेशनको तयारी स्वरुप विभिन्न प्रदेश र संघ संस्थासँग पार्टीले छलफल गर्न लागेको हो ।

यसैगरी सदस्यता वितरणका लागि फागुन १५ गतेसम्मका लागि अन्तिम म्याद थप गरेको जनाउँदै राजपाले आगामी वैशाख ७, ८ र ९ गते महाधिवेशन गर्ने निर्णय गरेको छ । तर, महाधिवेशको लागि स्थान तय गरेको छैन ।

प्रतिक्रिया दिनुहोस्